फाइल तस्वीर।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई जनताले नरुचाउने कुनै पनि काम नगर्न सुझाव दिएका छन् । एमालेको भातृ संगठन युवा संघले आयोजना गरेको युथ फोर्स भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई लत्याउन खोजियो भने त्यसको प्रतिवाद युवाहरूले गर्नुपर्ने बताए ।
सभामा पोखरेलले भने, ‘हामी संविधानको सर्वोच्चतालाई मान्छौं । कानूनी शासनलाई मान्छौं । कानूनलाई मिचेर अघि बढ्न खोजिन्छ भने जनताको जनमतलाई लत्याउन खोजिन्छ भने त्यसको जवाफ युथ फोर्सले दिनुपर्छ ।’
युथ फोर्सले जनताले नरुचाएको काम नगर्ने, उत्पादनका कुरासँग जोडिने, रोजगारी र स्वरोजगारीको पक्षमा अभियान चलाउने काम गर्नुपर्ने पोखरेलको भनाइ थियो ।
‘शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिलाई निषेध गर्न खोज्छ भने त्यसलाई युथ फोर्सले प्रतिवाद गर्नुपर्छ,’ उनले भने ।
महासचिव पोखरेलले संविधान र जनमत लत्त्याउने प्रयास हुनसक्ने भन्दै त्यसको प्रतिवादका लागि तयार रहन युथफोर्सलाई निर्देशन दिए । पोखरेलले राज्यको संवैधानिक प्रक्रियालाई तोडमोड गर्न खोजिए, कानुनलाई मिचेर अघि बढ्न खोजिए त्यसको प्रतिवाद गर्नुपर्ने बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend