बुटवल । भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषधको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगन्ज उपमहनगरपालिका १२ कोरियनपुरमा गए राति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगन्जमा कोठा भाडामा लिएर अवैध लागुऔषधको ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो ।
लागुऔषध ब्यूरो नेपालगन्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगन्ज–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनऊ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालगन्ज–११ टाँगा स्टेशन निवासी २१ वर्षीय आजाद कबडियालाई सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार छापा मार्दा कोठाबाट लागुऔषध तौल गर्ने डिजिटल तराजु र दिल्ली क्राउम नेशनल न्युज पेपर लेखेको सलमान खानको नाममा रहेको प्रेस कार्डसमेत बरामद भएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend