शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आतंकको आभास दिने बाहुबली संगठन तत्काल खारेज गर्न योगेश भट्टराईको माग

आतंकको आभास दिने बाहुबली संगठन तत्काल खारेज गर्न योगेश भट्टराईको माग

फाइल तस्बिर।

 

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्स गठन गरिएकोप्रति कडा आपत्ति जनाएका छन्। उनले अनेरास्ववियू र युवासंघलाई ओझेलमा राखेर समूहगत रुपमा खोलिएका यस्ता फोर्स प्रति असहमति जनाएका छन ।

हालै एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले युथ फोर्स र अखिल फोर्स ब्यूँत्याएकोप्रति नेता भट्टराईले गम्भीर आपत्ति प्रकट गरेका हुन्।

पार्टीमा रहेको अनेरास्ववियू र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि पनि प्रश्न गरेका छन्।

‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन र क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरुलाई राजनीतिक र वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य के छ’, भट्टराईले सोधेका छन्।

उनले समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्न पनि माग गरेका छन्।

‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ। अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ’, भट्टराईले भनेका छन्।

एमालेभित्र हालै अध्यक्ष ओली पक्षले युथ फोर्स ब्यूँत्याएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो। नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्यूँत्याउने तयारी गरेको छ।

‘के काम हुन्छन् जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्न सक्ने’, नेता भट्टराईले सोधेका छन्।

पार्टीभित्रका गुटहरुमा वैचारिक चरित्र सकिँदै जाँदा एक आर्काकाविरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो भन्ने प्रश्न गर्दै भट्टराईले अगाडि भनेका छन्, ‘यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैले खनिरहेको स्वीकार गर्नु पर्दछ।’

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend