काठमाण्डौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा रहेको बताएका छन ।
आज भक्तपुरमा कांग्रेस नेता गुरुराज घिमिरेको कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन कार्यक्रममा नेता पौडेलले भदौ १६ देखि १९ गतेका लागि तय भएको १४ औँ महाधिवेशनको मिति सार्न नहुने बताएका हुन ।
अहिले पार्टीको अर्जुन दृष्टि महाधिवेशन हुनुपर्नेमा जोड दिँदै उनले पार्टीकै अस्तित्वको जोखिम मोल्न नहुने बताए । विधानले अप्ठ्यारो नपुर्याउने कुरालाई बिस्तारै मिलाएर पनि जान सकिने बताउँदै प्रतिनिधि चयन मार्फत केन्द्रीय र प्रदेश समितिको निर्वाचन गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।
पार्टीको वैधानिकता बचाउनुपर्नेमा जोड दिँदै उनले छिट्टै क्रियाशील सदस्यको टुङ्गो लगाएर सिङ्गो पार्टीपंक्ति महाधिवेशनमा होमिनुपर्ने बताए ।
कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्यकै टुङ्गो नलागेको अवस्थामा निर्धारित तालिका अनुसार महाधिवेशन हुन कठिन रहेको बताए ।
कार्यक्रममा कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, नेताहरू शेखर कोइराला, अर्जुन नरसिंह केसी, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, बलबहादुर केसी, पूर्व मुख्य सचिव विमल कोइराला लगायतले नेता गुरुराज घिमिरेलाई बिपीको जस्तै दुवै क्षेत्रमा सफलता मिलोस् भने शुभकामना व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend