काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षले अधिकतम लचकता अपनाएर भए पनि एकताबद्ध बनाउने निर्णय गरेको एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
४ साउनदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको विकास, यसका अन्तरसंघर्ष र पछिल्लो समय आन्दोलनमा हुर्किंदै गएका विभिन्न स्वरूपका अवसरवादको आलोचना, खण्डन र भण्डाफोर गर्ने काम एमालेले गर्नेछ ।
पार्टी सदस्यता नवीकरणका साथै योग्यता पुगेकाहरूलाई नयाँ सदस्यता वितरणमा तीव्रता दिने निर्णय बैठकले गरेको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सदस्यता आवेदन, अद्यावधिक र नवीकरणमा सहजता, पारदर्शिता र तीव्रता दिने निर्णय बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताए । राजधानी दैनिकमा यो समाचार छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend