जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनर्स्थापनाको कुनै विकल्प नै नरहेको बताएका छन्। मंगलबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य र मान्यताअनुसार संसद पुनर्स्थापनाको विकल्प नरहेको बताए।
‘अहिले त सरकारले बढी संविधान मिच्ने, लोकतान्त्रिक मुल्य र मान्यतालाई कुल्चिने काम गरेको छ त्यसैले यस्तो अवस्थामा संसद पुनर्स्थापना मात्रै होइन कि मलाई विश्वास छ १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपति कहाँ बुझाएको आधारपत्र र १ सय ४६ को हस्ताक्षरसहित सर्वोच्च रिट प्रतिवेदनका आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ ,’ प्रचण्डले भने।
‘संसद पुनर्स्थापना नहुनुको अर्थ संविधान मिचेपनि भयो, लोकतन्त्र मिचेपनि भयो जनताको भावना विपरित जेपनि गरे हुन्छ भन्ने नजिर स्थापना हुन्छ,’ उनले थपे, ‘त्यसैले यस्तो हुदैंन भनेर म कल्पनासमेत गर्न चाहिँदिन। ’
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताको नजरमा एउटा निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा बद्नाम भइसकेको आरोप लगाउँदै प्रचण्डले प्रधानमन्त्रीको दबावले अब केही पनि हुन नसक्ने दाबी गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend