कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउन सुरु भएको छ। भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज खोप दिन लागेको हो। गएको जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो। भेरोसेल चिनियाँ खोप हो।
पहिलो डोज लगाएका नागरिकलाई २१ देखि २८ दिनभित्रमा दोस्रो डोज दिनुपर्छ। सोहीअनुसार दोस्रो खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयअन्तर्गतको खोप महाशाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले दोस्रो डोज लिन पाउने छन्। त्यसका लागि पहिलो डोज लगाएको कार्ड लिएर खोप केन्द्रमा जानुपर्ने गौतमले बताए।
नेपालमा पछिल्लो समय झण्डै पाँच लाख नागरिकले भेरोसेलको पहिलो खोप लगाएका छन्। उनीहरु सबैलाई र यसअघि छुटेकासमेतलाई आजबाट खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दोस्रो डोजको लागि काठमाडौँ उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएको छ। काठमाडौँ महानगरपालिकाले १२ ठाउँमा खोप लगाइरहेको छ।
महानगरपालिकाले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शङ्करमपुर अस्पताल, हिमाल अस्पताल, ओम अस्पताल एवं रिसर्ज सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजुलाई खोप केन्द्र तोकेको छ।
कामपाका शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने अस्पतालमा पुगेर खोप लगाउन सक्नेछन्। त्यसका लागि पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य लानुपर्ने छ।
भक्तपुरका ३८ ठाउँमा खोप केन्द्र तोकिएका छन्। ललितपुरमा स्थानीय तहलाई नै खोप वितरणको मिति र केन्द्र तोक्ने जिम्मा दिइएको गौतमले बताए। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend