काठमाडौं । चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको मृत्युबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न समाजवादी विद्यार्थी युनियनले माग गरेको छ।
असार ११ देखि हराइरहेकी भण्डारीको शव आइतबार राप्तीकै जंगलमा फेला परेको थियो। उक्त घटनाले गम्भीर आशंका पैदा भएको समाजवादी विद्यार्थी युनियनको भनाइ छ।
अध्यक्ष रूपनारायण श्रेष्ठले आज विज्ञप्ति निकालेर भण्डारीले आफू अपहरणमा परेको बताएको र हारगुहार गर्दा पनि सकुसल उद्धार हुन नसक्नुले प्रश्नहरू जन्माएको उल्लेख गरेका छन्।
‘हराएकी युवतीले आफू अपहरणमा परेको र आफूलाई बचाउन रुँदै हारगुहार गर्दासमेत सकुशल उद्दार गर्न नसक्नु, जङ्गलमा मृत भेटिनुले गम्भीर संसय र प्रश्न जन्माएको छ। न्यायको लागि निरन्तर आवाज उठाउने सङ्गठन समाजवादी विद्यार्थी युनियनले सुजिता भण्डारी मृत्यु प्रकरणलाई राज्यले छानविन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनी कठघरामा उभ्याउन जोड्दार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend