बाँके । प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ओसारपसार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित भित्री सडकबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
दुई थान दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित मेल्लेख गाउँपालिका–३ ऋषिदह अछामका २७ वर्षीय डम्बर बुढा र रामारोशन गाउँपालिका–५, अछामका ३५ वर्षीय नन्दु बुढालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।
पाटेबाघको छाला ल्याइरहेको भन्ने विशेष सूचनाका आधारमा बाटोमा पैदल हिडिरहेका उनीहरुलाई रोकेर झोला खानतलासी गर्दा छाला बरामद भएको डिएसपी न्यौपानेले बताए। अन्दाजी ८ देखि १० वर्ष उमेरका र सात फिट लम्बाई भएका दुबै बाघहरु भाले जातिका भएको उनले जानकारी दिए।
थप अनुसन्धान र आवश्यक कारबाहीका लागि छालासहित उनीहरुलाई डिभिजन वन कार्यालय बाँकेमा पठाइएको प्रहरीले जनाएको छ। उक्त बाघको छाला र व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालको नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend