गोरखा । गण्डकी प्रदेश सभाका सदस्य पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने भएका छन्। मुख्यमन्त्री हुँदा उनकै सचिवालयमा प्रेस संयोजक रहेका विक्रम न्यौपानेले गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने सार्वजनिक गरेका हुन्।
न्यौपानेले आफ्नो सामाजिक सन्जालमा लेखेका छन् ‘माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ। उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन। उहाँले त्यस्तो सुविधा लिनु हुने छैन।’
हालसालै नवगठित नेपाली कांग्रेस नेतृत्वका सरकारले प्रदेशका पूर्वमुख्यमन्त्रीलाई सुरक्षालगायत सुविधा दिने गरी ऐन ल्याउने तयारी गरेको छ। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको पहिलो क्याबिनेट बैठकले आइतबार यस्तो ऐन बनाउने निर्णय गरेको थियो।
उक्त सरकारको पहिलो निर्णय नै सेवासुविधासम्बन्धी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend