शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ढुंगा, गिट्टी, बालुवा निकासी निर्णय फिर्ता लिन भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको माग

ढुंगा, गिट्टी, बालुवा निकासी निर्णय फिर्ता लिन भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको माग

 

काठमाडौं । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘ढुंगा, गिट्टी, बालुवाको निकासी गर्ने सरकारी निर्णय फिर्ता लिन’ माग गरेको छ । ढुंगा, गिट्टी, बालुवाको उत्खनन्बाट एकपटक मुलुकको वातावरण पर्यावरण बिग्रियो भने, पछि फेरि यो आयात गरी सपार्न नसकिने तथ्य उठाउँदै उसले ‘विना दीर्घकालीन योजनाको निकासी गर्ने निर्णय फिर्ता लिइयोस्’ भनेको छ ।

अध्यादेश बजेटमा हालै सरकार’ले ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने’ नीति लिएको थियो ।

सरकारी नीतिले वातावरणीय समस्या र यसले जलवायुमा पनि प्रतिकूल असर पुर्‍याई डरलाग्दो बाढीपहिरो र तराईका खेत कटानसमेतको जोखिम बढाउने, तापक्रम बढाउने, बालुवा बगाई तराईको उर्बरभूमिलाई बन्जर अर्थात् मरुभूमीकरण गर्ने भनाइ टिआईको छ ।

टीआई अध्यक्ष पद्यिनी प्रधानांङ्गद्वारा विज्ञप्तीमा भनिएको छ, ‘यस्तो दोहन कार्यले पर्यावरणीय इकोसिस्टम र जैविक विविधतामा नै प्रतिकूल प्रभाव पार्ने कुराहरू छन् । चुरे दोहनले नेपाललाई मात्रै होइन, छिमेकी देश भारतको गंगा बेसिन क्षेत्रमा समेत नकारात्मक असर पुर्‍याउन सक्ने देखिन्छ ।’

केही वर्षअघिमात्र पूर्वदेखि पश्‍चिम क्षेत्रसम्मकै चुरेको खोंच र भावर क्षेत्रमा अवैध र अनियन्त्रित हिसाबले चलेका क्रसर उद्योगहरूबाट अत्यधिक दोहन भएपछि सरकारले २०७१ साल साउन १ गतेदेखि गिट्टी, ढुंगा र बालुवा निकासी बन्द गरेको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend