काठमाडौं । सरकारले असार महिनादेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको छ । कोरोना संक्रमण दर, मृत्यु दर घट्दै र निको हुने दर बढ्दै गएकाले निषेधाज्ञा खुकुलो पार्ने तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ ।
गत वर्ष बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको तर यसपाली त्यो गल्तीबाट सच्चिदै आवश्यकताको अधारमा निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए । उनले यसका लागि मन्त्रालयले समीक्षा गरिरहेको बताएका छन ।
उनका अनुसार उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्वब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकुदका गतिविधि भने खुल्ने छैनन् ।
त्यस्तै कृषि गर्ने समय भएकाले कृषकहरुलाई प्रथामिकता दिएर उनीहरुको दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्ने प्रवक्ता दाहालले बताए ।
वर्षाको समय भएकाले मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने उनको भनाइ छ ।
तर, यी गतिविधीका लागि पनि पूर्णस्वास्थ्य मापदण्ड पालनामा गर्नु पर्ने प्रवक्ता दाहालले जानकारी दिए । त्यस्तै काठमाडौं उपत्यकामा जोर बिजोर सवारी संचालन गर्न अनुमति दिने पनि सरकारको तयारी छ ।
निषेधाज्ञा केही खुकुलो पार्ने तयारीमा मात्रै सरकार रहेको पूर्ण रुपमा खुल्ला गर्ने अवस्थामा भने नरहेको उनको भनाइ छ । निषेधाज्ञाले कोरोना नियन्त्रणमा उल्लेखनीय सहयोग पुगेकोउनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend