काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने दाबी गरेका छन्। तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले नांगो रुपमा गरिएको संसद विघटन खारेज हुने बताएका हुन्।
‘अदालतले पनि अन्ततः संविधान नै हेर्ने हो,’ प्रचण्डले भने, ‘५ पुसमा पनि संसद विघटन गरियो, लडेर संसद फिर्ता ल्यायौँ। त्यसबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिएँ, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, पुनर्स्थापना हुन्छ।’
पुस ५ मा गरिएको संसद विघटनको बेला कांग्रेसले ढुलमुले चरित्र देखाएको उनले बताए। ुपहिलो पटक कांग्रेस पनि के हो के हो भन्नेमा थियो, अहिले त कांग्रेस पनि प्रतिगमन भयो भन्नेमा छु, उनले भने, ुजनता समाजवादी पार्टीका उपेन्द्रजी पनि साथमा छन् । माधवजी पनि सँगै छौँ, जनमोर्चा पनि साथमा छौँ।’
अबको केही दिनभित्रै अदालतबाट संसद पुनःस्थापना हुने उनले बताए। त्यसपछि आफूहरुको सरकार बन्ने विश्वास प्रचण्डले व्यक्त गरे। संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा उभिइरहेको पनि प्रचण्डले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend