काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारबाट बाहिरिएपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफ्नो सम्पत्ति विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
ज्ञवालीले झण्डै सवा ३ वर्ष परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले पाएको तलब भत्ताबाट पार्टीलाई दिएको लेभी र कर कट्टीपछिको बचत विवरण सार्वजनिक गरेका छन ।
उनले मन्त्रीकालमा विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९ सय ३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टीको खातामा जम्मा गरिएको बिवरण उल्लेख गरेका छन्।
साथै, कर बापतको ३ लाख ७२ हजार ४ सय ९१ रुपैयाँ सरकारी कोषमा दाखिला गरिएको र हाल आफ्नो बैंक खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ बचत रहेको विवरण ज्ञवालीले सार्वजनिक गरेका छन्।
‘हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’ उनले लेखेका छन्, ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ।’
उनले आफू मन्त्री हुँदा घरमा केही सामान र दुई सय जति पुस्तकहरू थपिएको उल्लेख गरेका छन्। ज्ञवालीले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन र ल्यापटप हिजै मन्त्रालयलाई फिर्ता गरिसकेको र आज पुल्चोकस्थित सरकारी निवास छाड्ने तयारी रहेको पनि जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend