सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज, फेसबुकमा लेखे सबैको मन छुने यस्तो स्टाटस

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज, फेसबुकमा लेखे सबैको मन छुने यस्तो स्टाटस

 

 

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमित भएका श्रेष्ठले डिस्चार्ज भएपछि आफ्ना सुवेच्छुकहरुलाई धन्यवाद पनि व्यक्त गरेका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि उनले आफ्नो अनुभव पनि सामाजिक सञ्जालमा साझा गरेका छन् । पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि ८ औं दिनसम्म अस्पताल बसेका श्रेष्ठ दोस्रो पटक पोजेटिभ आएपछि १४ दिन अस्पतालमा बसेका थिए । उनको मेडिसिटि अस्पतालमा उपचार भएको थियो । अस्पतालबाट डिस्चार्ज भएको एक हप्तापछि उनले आफु डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

 

यस्तो छ, उनले लेखेको फेसबुक स्टाटस

कृतज्ञता ज्ञापन :-

**************

मलाई माया, शुभेक्षा र आशिर्बाद बर्षाउँदै,मेरो स्वास्थ्य प्रति चिन्ता ब्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा, मेरो हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु।

याहांहरुको आशिर्बाद लाग्यो मलाई।

याहांहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी बिषलाई मज्जाले पचाईयो ।

कोरोनाले मलाई पछार्न त नराम्रै संगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो्, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि।

बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया … ।

तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्बादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन।

पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कानसमातेर १० पल्ट उठ् बस गरेर

ह्वाँ… ह्वाँ … रुंदै मसंग क्षमा मागेर लुसुक्क भाग्यो… … ।

अब शरिरमा अलि अलि शिथीलता बाकि छ । त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ।

म पहिलो पटक ८ दिन, फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो.

डक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनीसकेको छ। अब तपाईको शरिरमा अरु कसैबाट पनि कोरोना भाईरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन ।

एक प्रकारले भाय्कसिन लिईसकेको सरह नै भैसकेको छ भनेका छन।

तर म मेरो PCR रिपोर्ट नेगेटिभ आयो … भनेर सबैलाई सुनाउने ईच्छाले केहि नलेखी चुपचाप कुरीरहेको थिएँ ।

तर हिजो फेरि PCR test गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो ।

मेरोमा अझै अलि पोजेटिभ बाँकि रहेको देखाएको छ।

डक्टरहरुको भनाई अनुसार मेरो शरिरमा भएका कोरोनाको भाईरसहरु सबै मरिसकेका छन ।

अब खालि ती मरेका भाईरसका लाशहरु मात्र बाकी छन। त्यो बाँकि हुन्जेल पनि मेशिनले पोजेटीभ नै देखाउँछ। त्यस्ले केहि फरक पर्दैन ,केहि दिन पछि त्यो पनि आफै जान्छ भनेकाछन ।

जे होस बाँचियो बा … !

कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद|

यहाँहरु जस्तो मलाई औधि माया गर्नु हुने लाखौँ लाख शुभेक्षकहरुपनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ।

यो कुरा मैले हजुरहरुलाई जानकारि दिनका लागि मात्र लेखेकोहुं ।

मनमा अझै पनि पूरा खुशी लागेको भने छैन।

देशमा अझै पनि कोरोना पिडीतहरु धेरै बाकि नै छन कतिपय अझ थपिंदै पनि छन ।

यस अबस्थामा देशको सबै भन्दा ठूलो समस्या भन्नु यहि कुलंगार कोरोना नै हुन ।

सरकारले पनि यस्लाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु ।

जनता नै भएन भने कस्लाई शासन गर्ने ? हैन त ??

सबैको जय होस ।

सबैको कल्याण होस।

कोरोनाबाट संसार चाँडै मुक्त होस ।

Respect U all

Love u all.

धन्यबाद

*** मदनकृष्ण श्रेष्ठ***

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend