काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष विश्व अर्यालले आर्थिक गतिविधि तथा निर्माण क्षेत्रलाई गति दिन सरकारले तत्काल इन्धनको मूल्य घटाउनुपर्ने माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष अर्यालले अमेरिका–इरान युद्धअघि कायम रहेको स्तरमा इन्धनको मूल्य फिर्ता ल्याउन सरकारसँग आग्रह गरेका हुन्। उनले इन्धनको मूल्य उच्च रहँदा निर्माण क्षेत्र, उद्योग–व्यवसाय, यातायात तथा समग्र अर्थतन्त्र प्रभावित भएको उल्लेख गरेका छन्।
अर्यालले आर्थिक गतिविधि सुस्ताइरहेका बेला सरकारबाट राहतमुखी नीति आवश्यक रहेको भन्दै इन्धनको मूल्य घटाउँदा उत्पादन लागत कम हुने, निर्माण कार्यले गति लिने तथा बजारमा आर्थिक चलायमानता बढ्ने विश्वास व्यक्त गरेका छन्।
उनले सरकारलाई सम्बोधन गर्दै “आर्थिक गतिविधि एवं निर्माण कार्यको गति बढाउन शीघ्र इन्धनको मूल्य अमेरिका–इरान युद्धअघिको अवस्थामा पुर्याएर जनतालाई राहत देऊ” भन्ने आग्रह फेसबुक पोस्टमार्फत गरेका छन्।
पछिल्लो समय इन्धनको मूल्यका कारण निर्माण व्यवसाय, ढुवानी, उद्योग तथा दैनिक उपभोग्य वस्तुको लागतसमेत बढिरहेको भन्दै सम्बन्धित निकायले मूल्य समायोजनमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend