काठमाडौं । नेपालको कृषि क्षेत्रको रूपान्तरण, महिला किसानको सशक्तीकरण तथा कृषि सार्वभौमिकतालाई केन्द्रमा राखेर फर्टिलाइजर्स टु फार्मर्स इन्स्टिच्युट नेपाल (एफटुएफ नेपाल) ले आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ।
इन्द्रेणी सुइट्स होटल, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा कृषि क्षेत्रको औद्योगिकीकरण, AgFinTech, किसानको वित्तीय पहुँच, कार्बन क्रेडिट तथा अन्तर्राष्ट्रिय महिला कृषक वर्ष २०२६ का अवसरमा नेपालले अवलम्बन गर्नुपर्ने नीति र रणनीतिका विषयमा विस्तृत छलफल भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचनले कृषि क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन सरकार, निजी क्षेत्र र किसानबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा नेपाल एग्रिकल्चर इकोनोमिक्स सोसाइटीकी उपाध्यक्ष डा. सुधा सापकोटाले ‘अन्तर्राष्ट्रिय महिला कृषक वर्ष २०२६’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको खाद्य सुरक्षा र कृषि उत्पादनमा महिला किसानको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्। महिला किसानलाई प्रविधि, वित्तीय पहुँच र बजारसँग जोड्न सके कृषि क्षेत्रमा गुणात्मक परिवर्तन सम्भव हुने उनको भनाइ थियो।
त्यसैगरी सोसाइटीका निर्देशक डा. मधुसूदन भट्टराईले आर्थिक वर्ष २०८३/०८४ को कृषि बजेटको विश्लेषण प्रस्तुत गर्दै बजेट कार्यान्वयन प्रभावकारी भए मात्र कृषि क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सक्ने धारणा राखे। उनले उत्पादनमुखी लगानी र किसानमैत्री कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत महिला उद्यमी विकास समितिकी अध्यक्ष सुनीता न्हेमाफुकीले AgFinTech र किसान क्रेडिट कार्ड सम्बन्धी प्रस्तुति दिँदै डिजिटल वित्तीय प्रणालीमार्फत किसानको ऋण पहुँच सहज बनाउनुपर्ने बताइन्। आधुनिक वित्तीय प्रविधिले साना किसानलाई समेत औपचारिक वित्तीय प्रणालीमा आबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
एफटुएफ नेपालका अध्यक्ष शिवनन्दन प्रसाद साहले साना किसानका लागि कार्बन क्रेडिट विषयमा प्रस्तुति दिँदै जलवायुमैत्री कृषि अभ्यास अपनाउने किसानलाई कार्बन बजारसँग जोडेर थप आम्दानीको अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गरे। उनले कृषि रूपान्तरणका लागि AgFinTech, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था र किसानबीचको सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल बैंकर्स संघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, नेपाल कृषि महासंघ तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार उक्त राष्ट्रिय संवादले महिला किसानको सशक्तीकरण, कृषि वित्तीय पहुँच विस्तार, नवीन प्रविधिको प्रयोग तथा कृषि सार्वभौमिकतासम्बन्धी नीतिगत बहसलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend