काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठले सरकार, निजी क्षेत्र, किसान तथा सम्बन्धित निकायहरूबीच प्रभावकारी सहकार्य हुन सके नेपालको दुग्ध क्षेत्र आत्मनिर्भर मात्र नभई निर्यातमुखी उद्योगका रूपमा समेत स्थापित हुन सक्ने बताउनुभएको छ ।
डेरी उद्योग संघको १७ औँ वार्षिक साधारण सभामा विशिष्ट अतिथिका रूपमा मन्तव्य राख्नुहुँदै अध्यक्ष श्रेष्ठले नेपालको कृषि अर्थतन्त्रमा दुग्ध क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले दुग्ध क्षेत्र लाखौं किसान, पशुपालक तथा उद्यमीहरूको जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएको बताउँदै रोजगारी सिर्जना, पोषण सुरक्षा, आयात प्रतिस्थापन तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको धारणा राख्नुभयो ।
उहाँले डेरी उद्योगसँग सम्बन्धित व्यवसायीहरूको हकहित संरक्षण, नीतिगत सुधार तथा व्यवसाय प्रवद्र्धनका लागि डेरी उद्योग संघले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । निजी क्षेत्र र किसानबीच समन्वय तथा सहकार्यको वातावरण निर्माण गर्दै दुग्ध उद्योगको विकासमा संघले पु¥याएको योगदान सराहनीय रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष श्रेष्ठले वर्तमान समयमा उत्पादन लागत वृद्धि, कच्चा पदार्थ व्यवस्थापन, आयातित दुग्धजन्य वस्तुसँगको प्रतिस्पर्धा तथा प्रविधिगत रूपान्तरण जस्ता चुनौतीहरू सामना गर्न डेरी क्षेत्र थप प्रतिस्पर्धी, प्रविधिमैत्री र नवप्रवर्तनमुखी बन्न आवश्यक रहेको औंल्याउनुभयो । उत्पादन वृद्धि मात्र नभई गुणस्तर अभिवृद्धि, ब्राण्डिङ, मूल्य अभिवृद्धि तथा निर्यात प्रवद्र्धनलाई समेत समान प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश उत्पादनमुखी उद्योग, कृषि उद्यम तथा निजी क्षेत्रको सशक्तीकरणका पक्षमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष श्रेष्ठले दुग्ध क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार, व्यवसायमैत्री वातावरण निर्माण तथा आवश्यक समन्वयका लागि महासंघको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले डेरी उद्योग संघको १७ औँ वार्षिक साधारण सभाको सफल आयोजनाका लागि संघलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाले आगामी दिनमा समेत व्यवसायीहरूको हित संरक्षण, उद्योग प्रवद्र्धन तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार राजकुमार दाहालको सभाध्यक्षतामा काठमाडौंको होटल एभरेष्टमा भएको कार्यक्रममा प्रदेश उद्योग वाणिज्य महासंघका पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend