सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्रिल तथा स्टिल व्यवसायलाई एकताबद्ध र प्रविधिमैत्री बनाउन महासंघ प्रतिबद्ध : केन्द्रीय अध्यक्ष ठूलोबाबु श्रेष्ठ

ग्रिल तथा स्टिल व्यवसायलाई एकताबद्ध र प्रविधिमैत्री बनाउन महासंघ प्रतिबद्ध : केन्द्रीय अध्यक्ष ठूलोबाबु श्रेष्ठ

काठमाडौं। ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठूलोबाबु श्रेष्ठले ग्रिल तथा स्टिल व्यवसायलाई संगठित, मर्यादित, सुरक्षित तथा प्रविधिमैत्री बनाउने अभियानमा महासंघ दृढतापूर्वक लागिरहेको बताएका छन्।
ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं जिल्लाको आठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायमैत्री नीति निर्माण तथा राज्यका सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न महासंघ निरन्तर सक्रिय रहने बताए।
उनले ग्रिल तथा स्टिल व्यवसाय नेपालको निर्माण तथा पूर्वाधार विकाससँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै घर, भवन, उद्योग, कार्यालय, विद्यालय, अस्पताल तथा विभिन्न विकास निर्माणका क्षेत्रमा यस व्यवसायी समुदायको महत्वपूर्ण योगदान रहेको बताए। “हामी केवल व्यवसायी मात्र होइनौँ, राष्ट्र निर्माणका साझेदार पनि हौँ,” उनले भने।
अध्यक्ष श्रेष्ठले वर्तमान समयमा कच्चा पदार्थको मूल्यवृद्धि, आर्थिक मन्दी, अस्वस्थ प्रतिस्पर्धा, दक्ष जनशक्तिको अभाव, बैंकिङ क्षेत्रका जटिलता तथा सुरक्षा मापदण्डका चुनौतीहरूले व्यवसाय प्रभावित भएको उल्लेख गर्दै यस्ता समस्याको समाधान व्यक्तिगत रूपमा नभई संगठित रूपमा खोज्नुपर्ने आवश्यकता औँल्याए।
उनले महासंघले स्थापनाकालदेखि नै व्यवसायीहरूको अधिकार संरक्षण, व्यवसायको मर्यादा अभिवृद्धि तथा व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन विभिन्न पहल गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि व्यवसायीमैत्री वातावरण निर्माणका लागि सरकारसँग प्रभावकारी समन्वय गरिने बताए।


संगठनको एकतामाथि जोड दिँदै अध्यक्ष श्रेष्ठले विचार फरक भए पनि व्यवसायको संरक्षण र विकास साझा उद्देश्य हुनुपर्ने बताए। संगठन बलियो भए मात्रै व्यवसायी बलियो हुने उल्लेख गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितलाई प्राथमिकता दिन सबै व्यवसायीलाई आग्रह गरे।
अधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वलाई अग्रिम शुभकामना दिँदै उनले नेतृत्व भनेको पद प्राप्त गर्नु मात्र नभई जिम्मेवारी बहन गर्ने अवसर भएको बताए। नयाँ नेतृत्वले व्यवसायीहरूको विश्वास जित्दै संगठनलाई अझ सशक्त, प्रभावकारी र उत्तरदायी बनाउने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा उनले ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं जिल्लाले विगतमा व्यवसायीहरूको हित, संगठन विस्तार तथा विभिन्न रचनात्मक गतिविधिमार्फत पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि महासंघको अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
अन्त्यमा अध्यक्ष श्रेष्ठले साधारण सभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै आयोजक समिति, पदाधिकारी, सदस्य तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरे। उनले व्यवसायीहरूलाई एकताबद्ध भएर व्यवसायको सम्मान बढाउन, अधिकार सुरक्षित गर्न तथा समृद्ध नेपालको निर्माणमा अझ प्रभावकारी योगदान दिन आह्वान गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend