काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४६औँ वार्षिक साधारणसभा तथा १७औँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ। दुई दिनसम्म चल्ने सम्मेलनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले यसपटकको अधिवेशनलाई पेट्रोलियम व्यवसायीहरूको सबैभन्दा महत्त्वपूर्ण लोकतान्त्रिक उत्सवका रूपमा हेरिएको छ।
अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका महासचिव विश्व अर्याल र मकवानपुरका सफल पेट्रोलपम्प व्यवसायी उत्सव इटेनीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। दुवै उम्मेदवारले आफ्नो–आफ्नो प्यानल घोषणा गर्दै देशभरका प्रतिनिधिहरूसँग तीव्र चुनावी भेटघाट र छलफललाई अन्तिम चरणमा पुर्याएका छन्।
विश्व अर्यालले संगठनको निरन्तरता, अनुभव र संस्थागत सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनलाई विशेषगरी काठमाडौं उपत्यकाका पेट्रोलपम्प व्यवसायीहरूको साझा संस्था बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको बलियो साथ प्राप्त भएको छ। बागमती एसोसिएसनका अध्यक्ष अच्युत खड्का पनि अर्याल नेतृत्वको प्यानलबाट केन्द्रीय महासचिव पदका उम्मेदवार बनेपछि उक्त समूह थप सुदृढ देखिएको छ।
उता उत्सव इटेनीले भने मोफसलका व्यवसायीहरूको विश्वास जित्दै परिवर्तन, समान अवसर र सबै क्षेत्रका पेट्रोलियम व्यवसायीको साझा हितलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाइरहेका छन्। नारायणी क्षेत्रका व्यवसायीमाझ स्थापित नेतृत्वका रूपमा परिचित इटेनीले राजधानी केन्द्रित सोचभन्दा बाहिर गएर देशभरका व्यवसायीको आवाजलाई केन्द्रीय नेतृत्वमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। त्यसका कारण प्रदेश तथा मोफसलका प्रतिनिधिमाझ उनको प्रभाव उल्लेखनीय रूपमा बढेको बताइन्छ।
यसपटकको निर्वाचनमा देशभर रहेका एक हजार ५१३ पेट्रोलपम्प व्यवसायीको प्रतिनिधित्व गर्दै ३७० जना प्रतिनिधिले मतदान गर्नेछन्। एसोसिएसनको विधानअनुसार प्रत्येक पाँच सदस्य बराबर एक जना प्रतिनिधि चयन गरिने व्यवस्था छ। सोही आधारमा सबैभन्दा धेरै १४७ वटा पेट्रोलपम्प रहेको काठमाडौंबाट मात्रै ३० जना प्रतिनिधि छनोट भएका छन्।
यही कारण काठमाडौंका प्रतिनिधिलाई यस निर्वाचनका ‘निर्णायक मतदाता’का रूपमा हेरिएको छ। राजधानीका मत एकातिर केन्द्रित भए परिणाम सहज हुन सक्ने भए पनि विभाजित अवस्थामा मोफसलका प्रतिनिधिको समर्थनले अन्तिम नतिजा उल्टाउन सक्ने आकलन गरिएको छ। त्यसैले दुवै प्यानलले काठमाडौंसँगै बाहिरी जिल्लाका प्रतिनिधिलाई समेत आफ्नो पक्षमा पार्न अन्तिम समयसम्म व्यापक चुनावी अभियान सञ्चालन गरिरहेका छन्।
पेट्रोलियम व्यवसायीहरूको हकहित, व्यवसायिक सुरक्षा, नीतिगत सुधार तथा संगठनलाई थप सशक्त बनाउने एजेन्डा लिएर मैदानमा उत्रिएका दुवै उम्मेदवारबीचको प्रतिस्पर्धाले यसपटकको अधिवेशनलाई निकै रोचक बनाएको छ। अब प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले आगामी कार्यकालमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको नेतृत्व कसको हातमा पुग्ने भन्ने टुंगो लाग्नेछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend