काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४६ औँ वार्षिक साधारणसभा तथा १७ औँ राष्ट्रिय सम्मेलन आगामी असार ५ र ६ गते हुने भएको छ। सम्मेलनमार्फत नयाँ नेतृत्व चयन हुने क्रममा अध्यक्ष पदका उम्मेदवार उत्सव इटेनीले पेट्रोलियम व्यवसायीका वर्षौंदेखि थाँती रहेका समस्याको समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
खबर ब्रेकिङसँगको कुराकानीमा इटेनीले नेपालभरका पेट्रोलियम व्यवसायी विभिन्न चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै व्यवसायीको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणका लागि आफू अध्यक्ष पदमा उम्मेदवार बनेको बताए। उनले व्यवसायीको विश्वास र साथ पाए सबै प्रतिबद्धतालाई व्यवहारमा उतार्ने दाबी गरे।
इटेनीले सिङ्केज, वर्किङ लस तथा कमिसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यान्वयन गराउन विशेष पहल गर्ने बताएका छन्। यस्तै, पेट्रोलियम व्यवसायीका दुई छुट्टाछुट्टै संस्थालाई एकीकृत गरी बलियो र साझा संगठन निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ।
उनका अनुसार एसोसिएसन अन्तर्गत रहेका २१ क्षेत्रका पेट्रोलियम व्यवसायीको व्यवसायिक हित, अधिकार संरक्षण र प्रवर्द्धनका लागि निरन्तर काम गरिनेछ। पेट्रोलियम पदार्थको अभाव हुन नदिन तथा नियमित आपूर्तिका लागि नेपाल आयल निगमसँग प्रभावकारी समन्वय र सहकार्य गरिने उनले बताए।
इटेनीले एसोसिएसनमा आबद्ध सबै सदस्यलाई एकताबद्ध बनाउँदै संगठनलाई थप सशक्त बनाउने, पेट्रोलियम डिलर्समा कार्यरत कर्मचारीको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राख्ने र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई विस्तार गर्ने योजना पनि सार्वजनिक गरेका छन्।
त्यसैगरी उनले पेट्रोलियम डिलर्सलाई प्रविधिमैत्री बनाउने, एसोसिएसनको सचिवालयलाई थप व्यवस्थित र संस्थागत गर्ने तथा पेट्रोलियम व्यवसायमा देखिएका बेथिति, विकृति र अस्वस्थ अभ्यासको अन्त्यका लागि संगठित र प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी नेतृत्व व्यवसायीको अधिकार, एकता र व्यवसायिक सम्मानका लागि समर्पित हुने विश्वास व्यक्त गर्दै अध्यक्ष पदका उम्मेदवार इटेनीले सम्पूर्ण सदस्य व्यवसायीसँग आफ्नो पक्षमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराइदिन हार्दिक अनुरोध गरेका छन्। उनले सक्षम, पारदर्शी र परिणाममुखी नेतृत्वमार्फत एसोसिएसनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पनि दोहोर्याए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend