काठमाडौं । नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक पूर्वाधारको संरक्षण र सडक दुर्घटना न्यूनीकरणका लागि ओभरलोड नियन्त्रणलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताएका छन्।
मङ्गलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै अध्यक्ष बानियाँले राज्यले अरबौँ रुपैयाँ खर्च गरेर निर्माण गरेका सडक र पुलहरू ओभरलोडका कारण समयअगावै क्षतिग्रस्त भइरहेको बताए। उनका अनुसार सडक पूर्वाधारलाई दीर्घकालसम्म टिकाउ बनाउने हो भने क्षमताभन्दा बढी भार बोक्ने सवारी साधनमाथि कडा निगरानी र नियन्त्रण आवश्यक छ।
बानियाँले बुटवल–नारायणगढ सडकखण्डका केही पुलहरू ओभरलोडकै कारण प्रभावित भएको उल्लेख गर्दै सडक र पुलको आयु घट्नुमा मुख्य कारण अत्यधिक भार बोकेर सञ्चालन हुने सवारी साधन रहेको बताए। “पूर्वाधार जोगाउने हो भने ओभरलोड नियन्त्रणमा प्रभावकारी कदम चाल्नैपर्छ,” उनले भने।
उनले बुटवल–हेटौँडा सडकखण्डको उदाहरण दिँदै उच्च मापदण्डमा निर्माण गरिएका सडकसमेत केही महिनामै बिग्रिन थालेको बताए। सडकको गुणस्तरमाथि प्रश्न उठाइए पनि वास्तविक समस्या ओभरलोड सवारी साधनको बढ्दो दबाब रहेको उनको तर्क थियो।
अध्यक्ष बानियाँले ओभरलोड नियन्त्रणमा प्रभावकारी कदम नचालिए सडक तथा पुलको आयु निरन्तर घट्दै जाने र राज्यको ठूलो लगानी जोखिममा पर्ने चेतावनी दिए। विभिन्न दातृ निकाय तथा मित्रराष्ट्रहरूको सहयोगमा निर्माण भएका पूर्वाधारहरू समेत अत्यधिक भारका कारण अपेक्षित समयभन्दा छिट्टै जीर्ण बन्दै गएको उनको भनाइ थियो।
बैठकमा उनले विदेशी सवारी साधनको व्यवस्थापनका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। विशेषगरी नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई ७२ घण्टासम्म देशभित्र सञ्चालन गर्न दिने व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै उनले त्यसलाई थप व्यवस्थित बनाउन आग्रह गरे।
भारतीय सवारी साधनहरू जुन नाकाबाट नेपाल प्रवेश गर्छन्, सोही नाकाबाट बाहिरिने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सुझाव दिँदै बानियाँले यसबाट अनधिकृत गतिविधि नियन्त्रणका साथै यातायात व्यवस्थापनमा समेत सुधार आउने विश्वास व्यक्त गरे।
उनले सडक सुरक्षा, पूर्वाधार संरक्षण र यातायात व्यवस्थापनलाई एकीकृत रूपमा हेरेर दीर्घकालीन नीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend