सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एकै दिन तोलामा ५ हजार रुपैयाँले उकालो लाग्यो सुन, चाँदी पनि महँगियो

एकै दिन तोलामा ५ हजार रुपैयाँले उकालो लाग्यो सुन, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकै दिन प्रतितोला पाँच हजार रुपैयाँले बढ्दै नयाँ उचाइमा पुगेको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ निर्धारण गरेको छ। आइतबार यही सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार रुपैयाँ कायम रहेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२० रुपैयाँले बढेर प्रतितोला पाँच हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला चार हजार ८४० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च रहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिएको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विश्व बजारमा बढ्दो माग, लगानीकर्ताको आकर्षण तथा आर्थिक अनिश्चितताका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको विश्लेषण गरिएको छ। यसको प्रभाव नेपाली बजारमा समेत परेकाले आगामी दिनमा मूल्यको उतारचढाव अझै कायम रहने व्यवसायीहरूको अनुमान छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend