काठमाडौं । भोजपुरमा निर्माणाधीन १४.१५ मेगावाट क्षमताको लोअर इर्खुवा जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने बाटो खुला गरेको छ। कम्पनीको सातौँ वार्षिक साधारणसभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदन गरेसँगै कम्पनीले सार्वजनिक लगानी आकर्षित गर्ने तयारीलाई औपचारिकता दिएको हो।
कम्पनीका अध्यक्ष कुमार पाण्डेको सभापतित्वमा जेठ २९ गते काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गरेको छ। सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा सञ्चालकहरूको बैठक भत्तासम्बन्धी प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ।
साधारणसभाको केन्द्रबिन्दु बनेको आईपीओ निष्कासन प्रस्ताव स्वीकृत भएसँगै कम्पनीले पूँजी संरचना विस्तार गर्ने र आयोजना विकासका लागि थप वित्तीय स्रोत परिचालन गर्ने योजना अघि बढाएको छ। कम्पनीका अनुसार दीर्घकालीन रणनीतिअनुसार जलविद्युत् क्षेत्रमा थप लगानी विस्तार र संस्थागत क्षमता सुदृढीकरणका लागि सार्वजनिक सेयर निष्कासन महत्वपूर्ण कदम हुनेछ।
त्यसैगरी, सभाले पारित गरेका निर्णयहरूको कार्यान्वयनका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गरेको छ। कम्पनीको प्रबन्धपत्र (एमओए) तथा नियमावली (एओए) संशोधन गर्ने प्रस्तावसमेत सभाबाट स्वीकृत भएको छ। संशोधित व्यवस्थाले बदलिँदो व्यावसायिक आवश्यकता र नियामकीय प्रावधानअनुसार कम्पनीको संस्थागत सुशासनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
भोजपुर जिल्लामा निर्माणाधीन लोअर इर्खुवा जलविद्युत् आयोजनालाई कम्पनीले निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखेको छ। नवीकरणीय ऊर्जाको उत्पादन वृद्धि गर्दै देशको ऊर्जा आत्मनिर्भरता र दिगो आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यसहित आयोजना निर्माण भइरहेको कम्पनीले जनाएको छ।
सभामा सहभागी पदाधिकारीहरूले साधारणसभाबाट पारित निर्णयहरूले आयोजना निर्माणको गति बढाउनुका साथै वित्तीय व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए। उनीहरूले लगानीकर्ताको भरोसा अभिवृद्धि गर्दै आयोजना सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याउने प्रतिबद्धता समेत दोहोर्याएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend