सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

इप्पानको २४औँ वार्षिक साधारणसभामा सीए नारायण कंडेलको उम्मेदवारी, सबल र एकताबद्ध संस्था निर्माणमा जोड

इप्पानको २४औँ वार्षिक साधारणसभामा सीए नारायण कंडेलको उम्मेदवारी, सबल र एकताबद्ध संस्था निर्माणमा जोड

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनको प्रक्रियामा  कार्यसमिति सदस्य पदका उम्मेदवार सीए नारायण कंडेलले संस्थालाई थप एकताबद्ध, प्रभावकारी र सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ऊर्जा क्षेत्रका अनुभवी व्यवसायी तथा चार्टर्ड एकाउन्टेन्ट कंडेलले इप्पानको आगामी नेतृत्वले निजी क्षेत्रको जलविद्युत् विकासमा देखिएका चुनौती समाधान गर्दै लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले नीति तथा नियमन सुधार, लगानी प्रवर्द्धन र वित्तीय पहुँच विस्तार, ऊर्जा व्यापार तथा बजार विस्तार, समन्वय र सहकार्य अभिवृद्धि, दिगो विकास तथा वातावरण संरक्षण, सदस्य हित संरक्षण र सदस्य क्षमता अभिवृद्धिलाई आफ्नो प्रमुख एजेण्डाका रूपमा अघि सारेका छन्।

कंडेल हाल रिज लाइन इनर्जी लिमिटेडका निर्देशक, दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडका निर्देशक, बागलुङ पावर प्रालिका अध्यक्ष तथा नारायण पावर प्रालिका अध्यक्षका रूपमा कार्यरत छन्। ऊर्जा क्षेत्रको व्यवस्थापन, वित्तीय योजना तथा परियोजना विकासमा लामो अनुभव हासिल गरेका कंडेलले इप्पानलाई निजी ऊर्जा उत्पादकहरूको साझा र बलियो संस्थाका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताए।

उनले जलविद्युत् क्षेत्रमा लगानीकर्ताले भोगिरहेका नीतिगत तथा व्यवहारिक समस्याको समाधानका लागि इप्पानले सरकार, नियामक निकाय र सरोकारवालाबीच प्रभावकारी समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे। साथै नेपालको ऊर्जा उत्पादनलाई आन्तरिक खपतसँगै अन्तरदेशीय व्यापार विस्तारतर्फ उन्मुख गराउन निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण हुने उनको भनाइ छ।

इप्पानको आगामी कार्यकालका लागि उम्मेदवारी दिएका कंडेलले संस्थाभित्र एकता, पारदर्शिता र सदस्यमैत्री कार्यशैलीलाई प्राथमिकता दिँदै ऊर्जा क्षेत्रको समग्र विकासका लागि साझा प्रयास आवश्यक रहेको बताएका छन्। उनले निजी ऊर्जा उत्पादकहरूको हकहित संरक्षण गर्दै जलविद्युत् क्षेत्रको दिगो विकासका लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“एकताबद्ध र सबल इप्पान निर्माण” को नारासहित चुनावी मैदानमा रहेका कंडेलले ऊर्जा उद्यमीहरूको विश्वास जित्दै संस्थालाई थप प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्य लिएको बताएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend