सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेशनल कलेजमा बर्ड कार्यक्रम शुभारम्भ

नेशनल कलेजमा बर्ड कार्यक्रम शुभारम्भ

काठमाडौं । काठमाडौं विश्वविद्यालयसँग आबद्ध नेशनल कलेजले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अध्ययनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित ‘बर्ड’ (Bachelor in International Relations and Diplomacy–BIRD) कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ।

कलेजको सभाहलमा बिहीबार आयोजित उद्घाटन समारोहमा विद्यार्थी, प्राध्यापक, कूटनीतिज्ञ, सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सुरुवात दर्ता तथा स्वागत चियापानबाट गरिएको थियो भने सहभागीहरूलाई बर्ड कार्यक्रमसम्बन्धी पुस्तिका तथा पाठ्यक्रमको रूपरेखा वितरण गरिएको थियो।

सांस्कृतिक कूटनीतिको झल्को दिने पृष्ठभूमि संगीतका बीच प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूको स्वागत गरिएको थियो। खादा अर्पण तथा राष्ट्रिय गानसँगै औपचारिक कार्यक्रम प्रारम्भ भएको थियो।

कार्यक्रममा नेशनल कलेजका प्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अध्ययनको आवश्यकता, विश्वव्यापी चुनौतीहरूको अध्ययन, विद्यार्थी गतिविधि तथा बर्ड कार्यक्रमको पृष्ठभूमि र महत्वबारे प्रकाश पारे। त्यसपछि विद्यार्थीहरूले विभिन्न भाषामा शुभकामना व्यक्त गर्दै बहुसांस्कृतिक वातावरणको प्रस्तुति दिएका थिए।

बर्ड कार्यक्रमको औपचारिक शुभारम्भ पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। त्यसलगत्तै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा नेशनल कलेजका अध्यक्षले संयुक्त रूपमा कार्यक्रमको ब्रोसर सार्वजनिक गरेका थिए। कार्यक्रममा बर्ड कार्यक्रमकी प्रमुख श्वेता कार्कीले कार्यक्रमको उद्देश्य, दृष्टिकोण, पाठ्यक्रम संरचना, सम्भावित रोजगारीका अवसर तथा अन्तर्राष्ट्रिय करियरका सम्भावनाबारे विस्तृत प्रस्तुति दिएकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सेनाका अवकाशप्राप्त मेजर जनरल डा. पूर्ण बी. सिलवालले वर्तमान विश्व परिवेशमा कूटनीति र रणनीतिक अध्ययनको महत्वबारे चर्चा गरे। त्यस्तै बर्ड विषय समितिका अध्यक्ष तथा पूर्व कूटनीतिज्ञ डा. दिनेश भट्टराईले अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनले नेपालका युवालाई विश्व मञ्चमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

विदेश मामिला विज्ञ डा. निश्चलनाथ पाण्डेले नेपालजस्ता विकासोन्मुख मुलुकका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र विकास अध्ययन अत्यन्त आवश्यक विषय भएको उल्लेख गरे। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।

विशिष्ट अतिथि तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत प्रा. डा. श्रीधर खत्रीले अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययनले नयाँ पुस्तालाई विश्व राजनीति, कूटनीति तथा विकासका विविध आयाम बुझ्न सहयोग पुग्ने बताए। उनले शैक्षिक संस्थाहरूले विश्वव्यापी दृष्टिकोण विकास गर्न यस्ता कार्यक्रमहरू विस्तार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्ट्सका डिन डा. उद्धव प्याकुरेलले अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास अध्ययन विस्तार गर्ने विश्वविद्यालयको दीर्घकालीन दृष्टिकोणबारे जानकारी गराए। उनले शैक्षिक सहकार्य, अन्तर्राष्ट्रियकरण तथा अनुसन्धानका नयाँ अवसरहरू सिर्जना गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताए।

समारोहको समापन गर्दै नेशनल कलेजका अध्यक्ष डा. बद्रीदेव पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए। उनले कार्यक्रममा सहभागी अतिथि, साझेदार संस्था तथा काठमाडौं विश्वविद्यालयको नेतृत्वप्रति आभार व्यक्त गर्दै शैक्षिक सहकार्य र अनुसन्धानमा थप सहकार्यको अपेक्षा व्यक्त गरे।

कार्यक्रमपछि सहभागीहरूबीच जलपान तथा अनौपचारिक अन्तरक्रिया सम्पन्न भएको थियो। कलेजले बर्ड कार्यक्रममार्फत नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा विकास अध्ययनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend