काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि चुनावी गतिविधि तीव्र बन्दै गएको छ। २०८३ जेठ २४ गते हुने संघको निर्वाचनमा भर्सा मेनपावर प्रा.लि.का सञ्चालक रविन मेगाले मगरले द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
मगर लोकतान्त्रिक एसोसिएशनको तर्फबाट आधिकारिक उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन्। उनले वैदेशिक रोजगार व्यवसायीहरूको हक, हित, सम्मान तथा व्यवसायिक सुरक्षाका मुद्दालाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
लोकतान्त्रिक समूहले “वैदेशिक रोजगार व्यवसायी हक, हित र सम्मान, लोकतान्त्रिक समूहको निरन्तर अभियान” भन्ने नारासहित निर्वाचन अभियानलाई अघि बढाएको छ। समूहले संघको नेतृत्वमा सक्षम, अनुभवी र व्यवसायीका समस्याप्रति संवेदनशील नेतृत्व आवश्यक रहेको भन्दै आफ्नो प्यानललाई विजयी गराउन अपिल गरेको छ।
लोकतान्त्रिक एसोसिएशनका आधिकारिक अध्यक्ष पदका उम्मेदवार मेघनाथ भुर्तेलको नेतृत्वमा चुनावी मैदानमा रहेको समूहले वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधार, व्यवसायीहरूको पेशागत सुरक्षा, श्रमिकमैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणका एजेन्डा अघि सारेको जनाएको छ।
द्वितीय उपाध्यक्ष पदका उम्मेदवार रविन मेगाले मगरले व्यवसायीहरूको एकता, पारदर्शिता र व्यवसायिक मर्यादाको संरक्षणका लागि आफू प्रतिबद्ध रहेको बताउँदै सम्पूर्ण व्यवसायीहरूलाई लोकतान्त्रिक समूहका उम्मेदवारहरूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन आग्रह गरेका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनलाई यसपटक व्यवसायीहरूको अधिकार, व्यवसायिक वातावरण सुधार तथा संस्थागत नेतृत्वको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहले आफ्नो चुनावी अभियानलाई थप प्रभावकारी बनाइरहेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend