सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगार क्षेत्र सुधारका लागि १० बुँदे प्रतिबद्धता सार्वजनिक, सचिव पदका उम्मेदवार भोलानद्वारा मत माग

वैदेशिक रोजगार क्षेत्र सुधारका लागि १० बुँदे प्रतिबद्धता सार्वजनिक, सचिव पदका उम्मेदवार भोलानद्वारा मत माग

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनलाई लक्षित गर्दै सचिव पदका उम्मेदवार राजाकाजी भोलान राज (लामा) वैदेशिक रोजगार क्षेत्रको दीर्घकालीन सुधार, श्रमिक सुरक्षा, व्यवसायीमैत्री वातावरण र नीतिगत परिवर्तनका लागि १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
“सुरक्षित वैदेशिक रोजगार, सिपसहितको श्रमिक, सम्मानजनक व्यवस्थित व्यवसाय, समृद्ध राष्ट्र” भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धी र व्यवसायमुखी बनाउने योजना अघि सारिएको छ।
भ्लोनले वैदेशिक रोजगार नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि नीतिगत अस्पष्टता, प्रक्रियागत जटिलता, सिण्डिकेट, ठगी तथा श्रमिक, व्यवसायी र सरकारबीचको अविश्वासका कारण क्षेत्रले विभिन्न चुनौती भोगिरहेको उल्लेख गरेका छन्। यस्ता समस्या समाधान गर्न आफूले संघको सचिव पदमा निर्वाचित भएपछि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले वैदेशिक रोजगार ऐन, नियमावली तथा निर्देशिकालाई समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै श्रमिक र व्यवसायी दुवैको हित संरक्षण हुने स्पष्ट नीति निर्माणमा जोड दिएका छन्। साथै फ्रि भिसा–फ्रि टिकट नीतिको पुनरावलोकन गर्दै वास्तविक लागतका आधारमा पारदर्शी खर्च निर्धारण गर्नुपर्ने धारणा राखेका छन्।
प्रतिबद्धतापत्रमा श्रम स्वीकृति, डिमाण्ड प्रमाणीकरण, करारपत्र तथा गुनासो व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना पनि समेटिएको छ। यसबाट सेवा प्रवाह छिटो, सहज र पारदर्शी हुने विश्वास व्यक्त गरिएको छ।
भ्लोनले स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया लगायतका सेवामा रहेको सिण्डिकेट अन्त्य गरी खुला प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्ने बताएका छन्। अनावश्यक बिचौलिया र एकाधिकार अन्त्य गरिए व्यवसायीमाथि उठ्ने प्रश्नहरू स्वतः कम हुने उनको भनाइ छ।
उनले वैदेशिक रोजगार व्यवसायीलाई नीति निर्माण प्रक्रियामा सहभागी गराउनुपर्ने, कानुनी रूपमा सञ्चालन भएका संस्थालाई अनावश्यक प्रशासनिक दबाब नदिनुपर्ने तथा व्यवसायीलाई सरकारको साझेदारका रूपमा स्वीकार गर्नुपर्ने माग गरेका छन्। वैदेशिक रोजगार क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्सको एक निश्चित हिस्सा क्षेत्रको विकास र सुधारमा लगानी गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन्।
श्रमिक सुरक्षालाई प्राथमिकतामा राख्दै विदेश जानुअघि प्रदान गरिने सीप, भाषा तथा अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउनुपर्ने भ्लोनको धारणा छ। यसबाट दक्ष श्रमिक विदेश पठाउन सकिने र देशमा भित्रिने रेमिट्यान्स समेत उल्लेखनीय रूपमा वृद्धि हुने उनले बताएका छन्। गन्तव्य मुलुकमा श्रमिक सहायता प्रणाली सुदृढ बनाउने, बीमा, उद्धार तथा क्षतिपूर्ति प्रक्रियालाई सरल र छिटो बनाउने योजना पनि उनले सार्वजनिक गरेका छन्।
प्रतिबद्धतापत्रमा युरोप, जापान, कोरिया, इजरायल लगायत उच्च आय भएका मुलुकहरूसँग श्रम सम्झौता विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ। सरकारले म्यानपावर व्यवसायीलाई समेत सहभागी गराई नयाँ गन्तव्य खोज्ने र नेपाली श्रमिकको दक्षता अभिवृद्धि गरी गुणस्तरीय रोजगारीमा पहुँच विस्तार गर्नुपर्ने उनको भनाइ छ।
अवैध एजेन्ट, ठगी तथा गैरकानुनी भर्ती प्रक्रियाविरुद्ध कडा कारबाहीको माग गर्दै भ्लोनले कानुनी व्यवसायी र अवैध दलालबीच स्पष्ट भिन्नता कायम गर्नुपर्ने बताएका छन्। यसले वैदेशिक रोजगार व्यवसायप्रति समाजमा सकारात्मक धारणा निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ।
सरकार, व्यवसायी र श्रमिक प्रतिनिधिबीच नियमित संवाद संयन्त्र स्थापना गरी साझा कार्ययोजना निर्माण गर्नुपर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्। नेपाली दूतावास तथा कूटनीतिक नियोगमार्फत डिमाण्ड प्रमाणीकरण प्रक्रिया छिटो र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै अनावश्यक ढिलाइका कारण रोजगारीका अवसर गुम्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्।
भोलानले वैदेशिक रोजगार क्षेत्रले लाखौं नेपालीलाई रोजगारी प्रदान गर्नुका साथै देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै केही व्यक्तिका कमजोरीका आधारमा सम्पूर्ण व्यवसायी समुदायलाई दोषी ठहराउन नहुने बताएका छन्। वैदेशिक रोजगारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा समग्र आर्थिक विकासमा पुर्‍याएको योगदानबारे समाजलाई जानकारी गराउनुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन्।
उनले व्यवसायी संगठनहरूले आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने, व्यवसायीका समस्या समाधानका लागि एकीकृत आवाज उठाउनुपर्ने तथा क्षमता विकास, तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी जेठ २४ गते हुँदैछ। निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मेघनाथ भुर्तेलको नेतृत्वमा प्यानल गठन गरेको छ। सोही प्यानलबाट सचिव पदका उम्मेदवार बनेका भ्लोनले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै व्यवसायीहरूको मत, समर्थन र सहयोगको अपिल गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend