काठमाडौं । नेपाल सुनचाँदी कला व्यवसायी संघको आगामी नेतृत्व चयनलाई लिएर व्यवसायीहरूबीच चासो बढिरहेका बेला अध्यक्ष पदका उम्मेदवार बाल कुमार विश्वकर्मा (सुमन) बलियो दाबेदारका रूपमा उभिएका छन्। संघको स्थापना कालदेखि नै संगठनमा सक्रिय रहँदै आएका विश्वकर्माले अनुभव, इमानदारी र व्यवसायीप्रतिको समर्पणका आधारमा व्यापक समर्थन प्राप्त गरिरहेका छन्।
दुई दशकभन्दा लामो समयदेखि सुनचाँदी व्यवसाय क्षेत्रमा सक्रिय विश्वकर्माले व्यवसायलाई केवल आम्दानीको माध्यमका रूपमा नभई हजारौं कालीगढ र व्यवसायीहरूको जीवनसँग जोडिएको पेशाका रूपमा लिँदै आएका छन्। व्यवसायीका समस्या राज्यका निकायसम्म पुर्याउने, व्यवसायमैत्री नीति निर्माणका लागि पहल गर्ने तथा कालीगढहरूको सीप, सम्मान र सुरक्षाका पक्षमा निरन्तर आवाज उठाउँदै आएका कारण उनी व्यवसायीहरूको भरोसाका पात्र बनेका छन्।
२०५६ सालमा नेपाल सुनचाँदी कला व्यवसायी संघ स्थापना हुँदा साधारण सदस्यका रूपमा संगठनमा प्रवेश गरेका विश्वकर्माले केन्द्रिय सदस्य, सहकोषाध्यक्ष, कोषाध्यक्ष हुँदै महासचिवसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए। विशेषगरी महासचिवको कार्यकालमा उनले संघमा आर्थिक अनुशासन, पारदर्शिता र संस्थागत सुधारलाई प्राथमिकता दिएका थिए। संघका गतिविधिलाई व्यवस्थित बनाउने, सदस्यहरूको सहभागिता बढाउने र व्यवसायीहरूको साझा आवाजलाई प्रभावकारी बनाउने काममा उनको भूमिका उल्लेखनीय मानिन्छ।
वर्तमान समयमा सुनचाँदी व्यवसायले कर नीति, भन्सार दर, अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा दक्ष जनशक्तिको अभावजस्ता चुनौती सामना गरिरहेको छ। यस्ता जटिल समस्याको समाधानका लागि अनुभवी र सक्षम नेतृत्व आवश्यक रहेको व्यवसायीहरूको धारणा छ। यही कारण धेरै व्यवसायीहरूले आगामी नेतृत्वका लागि विश्वकर्मामाथि विश्वास व्यक्त गरिरहेका छन्।
अध्यक्ष पदका उम्मेदवार विश्वकर्मा भन्छन्, “मैले लामो समयदेखि संघमा रहेर व्यवसायीहरूको समस्या नजिकबाट बुझेको छु। संघलाई अझ प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री बनाउने उद्देश्यसहित मैले उम्मेदवारी दिएको हुँ। व्यवसायीहरूको हकहित र एकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
उनको नेतृत्वमा सुनचाँदी व्यवसायलाई आधुनिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ। साथै कालीगढहरूको सीप विकास, नयाँ पुस्तालाई यस पेशातर्फ आकर्षित गर्ने, व्यवसायीहरूको एकता सुदृढ गर्ने तथा राज्यसँग प्रभावकारी समन्वय गरी व्यवसायमैत्री वातावरण निर्माण गर्ने एजेन्डा पनि उनको प्राथमिकतामा रहेको छ।
विश्वकर्माको नेतृत्व टोली पनि अनुभवी र सक्षम व्यक्तित्वहरूले भरिएको छ। सर्वसम्मत रूपमा चयन भएको उनको प्यानलमा द्वितीय उपाध्यक्षमा आकाश रिजाल तथा महासचिवमा प्रेम विश्वकर्मा उम्मेदवार रहेका छन्। उक्त टोलीलाई संघका निवर्तमान अध्यक्ष केसर बहादुर विश्वकर्मा तथा पूर्व अध्यक्षहरू रामप्रसाद लकान्द्री, रूद्रबहादुर बराइली र द्वारिका शंकरलगायत अग्रज व्यवसायीहरूको साथ र समर्थन प्राप्त रहेको बताइएको छ।
सदस्यदेखि महासचिव हुँदै अध्यक्ष पदसम्मको यात्रामा आइपुगेका बाल कुमार विश्वकर्मा (सुमन) अनुभव, समर्पण र जिम्मेवारीका प्रतीकका रूपमा चिनिन्छन्। व्यवसायीहरूको विश्वास र समर्थनसँगै उनले सुनचाँदी क्षेत्रको संरक्षण, प्रवर्द्धन र समृद्धिका लागि प्रभावकारी नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ। आगामी नेतृत्व चयनमा उनको उम्मेदवारीलाई सुनचाँदी व्यवसायीहरूको भविष्यसँग जोडेर हेरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend