सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

   साना तथा घरेलु उद्योगको भविष्य कोर्ने महाधिवेशन आइतबारदेखि, एक हजारभन्दा बढी उद्यमी ललितपुरमा जुट्ने

   साना तथा घरेलु उद्योगको भविष्य कोर्ने महाधिवेशन आइतबारदेखि, एक हजारभन्दा बढी उद्यमी ललितपुरमा जुट्ने

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। आगामी जेठ २४ र २५ गते ललितपुरमा हुने उक्त महाधिवेशनमा देशभरका उद्योगी, उद्यमी तथा महिला व्यवसायीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई घरेलु, लघु तथा साना उद्योग क्षेत्रका चुनौती, अवसर र भावी रणनीतिमाथि गम्भीर विमर्श गर्ने साझा मञ्चका रूपमा स्थापित हुने बताए।

उनका अनुसार महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा महिला उद्यमी प्रतिनिधिसहित करिब एक हजार जनाको सहभागिता रहनेछ। कार्यक्रममा उद्योग क्षेत्रको वर्तमान अवस्था, नीतिगत सुधार, उद्यमशीलताको प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणका विषयमा व्यापक छलफल गरिनेछ।

वि.सं. २०४७ सालमा स्थापना भएको महासंघले तीन दशकभन्दा बढी समयदेखि घरेलु तथा साना उद्योगीहरूको अधिकार संरक्षण, उद्यम विकास र महिला उद्यमशीलता विस्तारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। हाल महासंघको सञ्जाल सातै प्रदेश, ७७ जिल्ला र तीन सयभन्दा बढी स्थानीय तहसम्म फैलिएको छ। महिला उद्यमी समितिमार्फत ६२ जिल्लामा महिला उद्यमीहरूको संगठित नेटवर्क सञ्चालनमा रहेको जानकारी पनि महासंघले दिएको छ।

महासंघका उपाध्यक्ष शेभा गुरुङले महाधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिने जानकारी दिँदै महिला उद्यमशीलता, आर्थिक सशक्तीकरण, नवप्रवर्तन र बजार विस्तारका विषयमा दीर्घकालीन योजनाहरू तय गरिने बताए। उनका अनुसार सम्मेलनले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा व्यवसाय विस्तारका लागि नयाँ अवसरहरू पहिचान गर्न समेत मद्दत पुर्‍याउनेछ।

महाधिवेशनको अर्को आकर्षण स्वदेशी उत्पादनहरूको प्रदर्शनी रहनेछ। प्रदर्शनीमार्फत देशका विभिन्न भागमा उत्पादन भएका स्थानीय वस्तुहरूको प्रवर्द्धन तथा बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गरी आवश्यक व्यवस्थापन पूरा गरिएको महासंघले जनाएको छ। साथै कार्यक्रम सफल बनाउन सरकारी निकाय, निजी क्षेत्र, विकास साझेदार तथा सञ्चारमाध्यमको सहयोग र सहकार्य आवश्यक रहेको महासंघको भनाइ छ।

पत्रकार सम्मेलनमा महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी लगायतले कार्यक्रमको तयारी र उद्देश्यबारे जानकारी दिएका थिए। कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू मुकेश उपाध्याय, चन्दनकृष्ण श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, कोषाध्यक्ष अच्युत पाण्डेलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

घरेलु तथा साना उद्योग क्षेत्रलाई थप सशक्त, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित आयोजना हुन लागेको यो महाधिवेशनले उद्यमशीलता विकास र आर्थिक समृद्धिको नयाँ मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend