मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

  इप्पानको एकताका लागि पद त्याग्न पनि तयार छु : उत्तम भ्लोन लामा

  इप्पानको एकताका लागि पद त्याग्न पनि तयार छु : उत्तम भ्लोन लामा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) भित्र नेतृत्व चयनको बहस चलिरहेका बेला संस्थाका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका दाबेदार उत्तम भ्लोन लामाले संस्थाको एकता र हितलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि राख्ने बताएका छन्।

ऊर्जा क्षेत्रको विकास र इप्पानको भावी दिशा विषयक कार्यक्रममा बोल्दै लामाले संस्थाभित्र प्रतिस्पर्धाभन्दा सहमति र सहकार्यको वातावरण निर्माण हुनुपर्ने धारणा व्यक्त गरे। उनले आवश्यक परे वरिष्ठ उपाध्यक्ष पदको आफ्नो दाबी त्याग्न समेत तयार रहेको घोषणा गर्दै संस्थागत एकतालाई प्राथमिकता दिएका हुन्।

लामाले कार्यसमितिका सबै सदस्यहरू बलराम खतिवडालाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा स्वीकार गर्न तयार भए आफू पदको दौडबाट अलग भएर सल्लाहकारको भूमिकामा समेत योगदान गर्न तयार रहेको बताए। संस्थाभित्र विभाजन र ध्रुवीकरणभन्दा साझा उद्देश्यका लागि मिलेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।

उनले इप्पानलाई अब परम्परागत संस्थागत संरचनाबाट माथि उठाएर महासंघको स्वरूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। संस्थाको दायरा विस्तार गर्दै ऊर्जा क्षेत्रका सम्पूर्ण सरोकारवालाको साझा मञ्चका रूपमा विकास गर्नुपर्ने उनको धारणा थियो।

विधान संशोधनको काम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै लामाले आगामी ६ महिनाभित्र आवश्यक कानुनी परिमार्जन तथा एक वर्षभित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित आफूहरू अघि बढिरहेको जानकारी दिए। संस्था दर्ता ऐन लगायतका कानुनी जटिलताका कारण केही प्रक्रिया ढिलो भए पनि संस्थालाई थप समावेशी, लोकतान्त्रिक र खुला बनाउने अभियान जारी रहने उनले बताए।

लामाले नेतृत्वमा नैतिकता, उत्तरदायित्व र हस्तान्तरणको संस्कार आवश्यक रहेको उल्लेख गरे। आफू नेतृत्वमा पुगे पनि लामो समयसम्म पदमा रहिरहने सोच नरहेको स्पष्ट पार्दै उनले नयाँ पुस्तालाई अवसर दिन नेतृत्व परिवर्तनको अभ्यास संस्थागत गर्नुपर्ने बताए।

इप्पानमा आफू सधैं सुधार र परिवर्तनको पक्षमा उभिएको स्मरण गराउँदै लामाले विगतदेखि नै संस्थागत सुदृढीकरण, नीति सुधार र ऊर्जा क्षेत्रको हितका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। उनले इप्पान सीमित समूहको संस्था नभई सम्पूर्ण ऊर्जा उद्यमीहरूको साझा चौतारी बन्नुपर्नेमा जोड दिए।

संस्थाको एकता, ऊर्जा क्षेत्रको विकास र भावी पुस्ताका लागि बलियो संस्था निर्माण गर्न आफू जुनसुकै त्याग गर्न तयार रहेको भन्दै लामाले व्यक्तिगत पदभन्दा संस्थाको भविष्य महत्वपूर्ण रहेको सन्देश दिएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend