सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगार व्यवसायी संघमा नेतृत्व संकटपछि निर्वाचनको बाटो खुल्यो

वैदेशिक रोजगार व्यवसायी संघमा नेतृत्व संकटपछि निर्वाचनको बाटो खुल्यो

 काठमाडौं  । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र उत्पन्न नेतृत्व विवादले नयाँ मोड लिएको छ। संघका दुई तिहाइभन्दा बढी पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले सामूहिक राजीनामा दिएपछि संघमा नयाँ नेतृत्व चयनका लागि विशेष साधारणसभा र निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमिति विघटन गर्न निर्देशन दिएपछि संघको नेतृत्व हस्तान्तरण तथा नयाँ कार्यसमिति गठनको प्रक्रिया सुरु भएको हो। यससँगै संघको विधानअनुसार सल्लाहकारहरूको नेतृत्वमा गठित प्रबन्ध समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध समितिले आगामी जेठ २४ गते विशेष साधारणसभा आयोजना गरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न गरिने जानकारी दिएको छ। समितिका अनुसार निर्वाचनका लागि प्रतिनिधि संकलनको काम जारी रहेको छ।

संघका निवर्तमान अध्यक्ष तथा प्रबन्ध समिति सदस्य राजेन्द्र भण्डारीले संघको विधानको दफा २६ (४) (ख) अनुसार प्रबन्ध समिति गठन गरिएको स्पष्ट पारे। उनले कार्यसमितिका बहुमत पदाधिकारीहरूको राजीनामापछि उत्पन्न असामान्य परिस्थितिलाई व्यवस्थापन गर्न विशेष साधारणसभा र निर्वाचन अपरिहार्य बनेको बताए।

भण्डारीले सम्पूर्ण व्यवसायीहरूलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी भई सक्षम र प्रभावकारी नेतृत्व चयन गर्न आग्रह गर्दै संघको संस्थागत विकास र स्थायित्वका लागि एकजुट हुन आह्वान गरे।

संघभित्रको विवाद वैशाख १४ गते चरममा पुगेको थियो। अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महासचिव महेश बस्नेतसहित ११ जना पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए। उनीहरूले अध्यक्षको नेतृत्व व्यक्तिगत स्वार्थ केन्द्रित भएको, निर्णय प्रक्रिया पारदर्शी र सामूहिक नभएको तथा व्यवसायी र श्रमिकहरूको हित संरक्षणमा अपेक्षित भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका थिए।

राजीनामापछि पूर्वअध्यक्षहरू र सल्लाहकारहरूको सहभागितामा प्रबन्ध समिति गठन गरिएको थियो। तर अध्यक्ष गुरुङले आफू निर्वाचित अध्यक्ष भएकाले प्रबन्ध समितिको निर्णय मान्य नहुने अडान राख्दै आएका थिए। विवाद झन् गहिरिँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गर्दै वर्तमान कार्यसमिति विघटन गर्ने निर्णय गरेको हो।

प्रशासनको हस्तक्षेपपछि संघभित्र लामो समयदेखि जारी नेतृत्व विवाद समाधानतर्फ उन्मुख भएको व्यवसायीहरूको अपेक्षा छ। अब हुने निर्वाचनले संघलाई नयाँ दिशा दिने र वैदेशिक रोजगार क्षेत्रका व्यवसायी तथा श्रमिकहरूको हित संरक्षणमा प्रभावकारी नेतृत्व स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend