सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बजेट समग्रमा सकारात्मक, प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ : डा. तारानाथ लुइटेल

बजेट समग्रमा सकारात्मक, प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ : डा. तारानाथ लुइटेल

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुइटेलले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट समग्र रूपमा सन्तुलित र सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। उनले बजेटका कार्यक्रम र योजनाहरू व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन सके मात्र अपेक्षित उपलब्धि हासिल हुने बताएका छन्।

बजेटबारे प्रतिक्रिया दिँदै डा. लुइटेलले मुलुकको वर्तमान आर्थिक अवस्था, विकास निर्माणका आवश्यकता तथा उत्पादनमूलक क्षेत्रको प्रवर्द्धनलाई ध्यानमा राखेर बजेट ल्याइएको देखिएको बताए। उनले बजेटमा कृषि, पर्यटन, पूर्वाधार विकास, ऊर्जा तथा निजी क्षेत्रको लगानी प्रोत्साहनका विषय समेटिएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

उनले विगतका अनुभवलाई स्मरण गर्दै बजेटको सफलता घोषणा र कार्यक्रमभन्दा पनि कार्यान्वयनमा निर्भर रहने बताए। “बजेट समग्र रूपमा ठीक छ, तर यसको प्रभावकारिता कार्यान्वयनमा देखिनुपर्छ,” उनले भने, “हामीकहाँ राम्रो योजना बनाइन्छ तर कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित परिणाम प्राप्त हुन सक्दैन।”

डा. लुइटेलले विशेषगरी विकास निर्माणका योजनाहरू आर्थिक वर्षको अन्त्यतिर हतारमा खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले असार महिनाको अन्तिम समयमा बजेट खर्च गर्नका लागि जथाभावी रकम वितरण गर्ने र हतारमा काम सम्पन्न गरेको देखाउने पुरानो रोग अझै कायम रहेको उल्लेख गरे।

“असारको हिलोमा पैसा छर्ने काम अब बन्द हुनुपर्छ,” उनले भने, “वर्षभरि योजनाहरू अलपत्र राख्ने र अन्तिम समयमा बजेट सक्नकै लागि खर्च गर्ने प्रवृत्तिले न त विकासलाई गति दिन्छ, न त राज्यको लगानीको उचित प्रतिफल प्राप्त हुन्छ।”

उनले बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय, विभाग, प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। विकास आयोजनाहरूको समयमै ठेक्का प्रक्रिया सम्पन्न गर्ने, नियमित अनुगमन गर्ने तथा नतिजामुखी कार्यशैली अपनाउने हो भने बजेटले अपेक्षित उपलब्धि दिन सक्ने उनको भनाइ छ।

डा. लुइटेलले आर्थिक अनुशासन कायम गर्दै पारदर्शी र उत्तरदायी ढंगले बजेट खर्च गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिए।

उनले बजेटले समेटेका कार्यक्रमहरू समयमै कार्यान्वयन भएमा आर्थिक गतिविधि विस्तार हुने, रोजगारी सिर्जना हुने तथा मुलुकको अर्थतन्त्र चलायमान बन्ने विश्वास व्यक्त गरे। तर कार्यान्वयनमा ढिलासुस्ती, राजनीतिक हस्तक्षेप र प्रशासनिक कमजोरी दोहोरिएमा बजेटका लक्ष्यहरू कागजमै सीमित हुने चेतावनी पनि दिए।

डा. लुइटेलले सरकारले बजेटको प्रभावकारी कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै विकास र समृद्धिका लक्ष्य हासिल गर्न सबै राजनीतिक दल, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे। “बजेट बनाउनु मात्रै ठूलो कुरा होइन, त्यसलाई परिणाममुखी ढंगले कार्यान्वयन गर्नु नै सबैभन्दा ठूलो चुनौती र आवश्यकता हो,” उनले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend