काठमाडौ, जेठ २९ । पशु अधिकारकर्मीहरुले पशु कल्याण सम्बन्धमा बनेका ऐन तथा नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन् । राजधानीमा आयोजित अन्तरक्रियामा सहभागीहरुले पशुकल्याण सम्बन्धी प्रभावकारी कानून नै बन्न नसकेको तथा भएका कानूनको पनि कार्यान्वयन हुन नसकेको बताएका हुन् ।
नेपालमा पशुकल्याणको क्षेत्रमा लामो समय देखी काम गर्दै आएको संस्था नेपाल पशुकल्याण संघ तथा स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले पशु ढुवानी सम्बन्धी मापदण्ड २०६४ साल मै जारी गरिएको भए पनि हाल सम्म पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु लाज्जाको विषय भएको बताउनु भयो । उहाँले भन्नु भयो पशु ढुवानी सम्बन्धी मापदण्ड बनेको १२ बर्ष वितिसक्दा पनि पशुहरुलाई जथाभावी कोचेर, नाकमा रसी लगाएर तथा पुच्छर बाँधेर ट्रकमा कोचेर ल्याउने कार्य नरोकिनुले नेपालमा पशु कल्याण र पशु अधिकारको यथार्थता प्रष्ट हुन्छ ।
पहिले आफु व्यक्ति सच्चिनुपर्छ अनि मात्रै पशु अधिकार तथा पशुकल्याण भनेको के हो भन्ने बुझ्न सकिन्छ, ऐन नियमको प्रभावकारी कार्यन्वयन हुन सक्छ उहाँले भन्नुभयो, । निमार्णको क्रममा रहेको पशु कल्याण सम्बन्धी ऐन लागु भएपछि पशु कल्याण तथा पशु अधिकारको क्षेत्रमा देखिएको मनवीय संवेदनहिनताको अन्त्य हुने विश्वास उहाँको थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेलले पशुको पनि मानिसको जस्तै आत्म हुन्छ, पीडा हुन्छ तर व्यक्त मात्रै गर्न नसकेका हुन् भन्ने बुझ्न नसकेसम्म पशु अधिकार र पशुकल्याणबारे बुझ्न नसकिने बताउनुभयो । उहाँले नेपाल सरकारले पशुकल्याण सम्बन्धमा बनेका प्रावधानहरुलाई प्राथमिकता दिन नसकेको र पशु कल्याण सम्बन्धी शिक्षा र जनचेतनको पनि अभाव रहेको उहाँको भनाई थियो ।
पौडेलले भन्नुभयो‘ कसैले कुकुरलाई कुटेर मा¥यो भने कहाँ उजुरी गर्ने कसलाई उजुरी गर्ने के कारवाही हुन्छ भन्ने जानकारी नै छैन, यस्तो अवस्थामा कसरी पशुको कल्याण गर्न सकिन्छ ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका निमित्त सचिव डाक्टर विमलकुमार निर्मलले पशुकल्याण ऐन आउन ढिलाई हुँदा पशुु कल्याणको क्षेत्रका सोचे अनुरुपको काम गर्न नसकिएको बताउनुभयो ।
उहाँले फ्रान्समा आफुले पशु कल्याणको व्यवस्था नहुँदा लज्जाबोध गरेको अनुभव सुनाउँदै भन्नुभयो, म केही समय अँघि फ्रान्समा पशुपंक्षी सम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन गएको थिए, त्यहाँ नेपालका सडकमा कुकुरहरु जथाभावी छाडिएको भिडियो देखाइयो म नेपालको प्रतिनिधित्व गरेर गएको मान्छे त्यो भिडियो देखेर मलाई लज्जा बोध भयो र आफु बसेको स्थानबाट उठेर पछाडी गएर बसँे ।
यसले मेरो मात्रै होइन समग्र देशकै बेइज्जत गरेको मलाई अनुभूती भयो त्यसैले सबै मानिस आफ्नो ठाउँमा जिम्मेवार हुनु जरुरी छ सडकमा ल्याएर कुुकुर तथा अन्य जनावर जथाभावी छोड्ने काम गर्नु भएन । आफुले पालेका जनावरको उचित रेखदेख र पालनपोषण गर्नु आफ्नो कर्तव्य हो भन्ने सोच्नु आवश्यक छ ।
यस्तै डा निर्मलले नेपालका पशु फर्म पशुपालन मात्रै भएको छ कि ति पशुहरुको अधिकार तथा कल्याणको बारेमा पनि काम गरिएको छ त्यसको अनुगमन गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले मताहतका निकायलाई भन्नुभयो ‘पशुपालन गर्ने फर्म गएर पशुको कल्याण सम्बन्धी काम सन्तोषजनक छ की छैन तपाईहरुले अनुगमन गर्नुस् यदि त्यस्तो छैन भने ति फर्महरु बन्द गर्नुपर्छ साथै तिनीहरुलाई दिने गरिएको अनुदान पनि बन्द गनुपर्छ मन्त्रालयले यो कार्यलाई कडाईका साथ लागु गराउने छ म प्रतिवद्धता जनाउन चाहन्छु ।
डा निर्मलले मिस नेवा रिजु मानन्धरलाई पशुकल्याण एम्बेसडर बनाउन प्रस्ताव पनि गर्नुभएको थियो ।कार्यक्रममा अधिवक्ता पदम बहादुर श्रेष्ठले नेपालमा पशु कल्याणका सन्दर्भमा भएका कानूनी प्रावधानहरुको चर्चा गर्दै सर्वोच्च अदालतबाट ऐन नियम बनाउन निर्देशन आउँदा समेत सरकारले चासो नदिएको गुनासो गर्नुभयो ।
उहाँले सर्वोच्च अदालतले दिएको आदेशको स्मरण गर्दै भन्नुभयो,पशुकल्याण सम्बन्धी ऐन बनाउन माग गर्दै आफुले दायर गरेका रिटमा सर्वोच्च अदालतले २०७५ साल माघ १० गते परमादेश जारी गरेको छ भने गाई गोरुको संरक्षण गर्न २०७६ बैशाख ८ मा आदेश दिएपनि त्यसको कार्यान्वयन नभएको उहाँको भनाई छ । राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्न पञ्चबर्षे योजना बन्ने मुलुकमा पशुको कल्याण गर्न किन योजना बन्दैनन् भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो ।
केन्द्रीय रेफरल भेटनरी अस्पतालका प्रमुख डा। बलराम थापाले दैनिक ५ देखी ६ वटा कुकुर तथा त्यतीनै सङ्ख्यामा गाई तथा गोरु घाइते भएर भेटनरी अस्पतालमा आउने गरेको बताउनुभयो । उहाँले टाइसुट लगाएर गाडी हाँक्ने आफुलाई सम्भ्रान्त बर्गको ठान्नेहरुले नै पशुपंक्षीहरुलाई घाइते बनाउने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
डा थापाले भन्नुभयो, हेर्दा सुकिला मुकिला देखिन्छन् ,आफ्नो हात खुट्टा भाँचियो भने हस्पिटलमा गएर लाखाँै खर्च गर्छन् तर एक सेकेण्ड ब्रेक लागाउने हो भने पशुघाइते हुनबाट जोगिन्छ तर पशुको लाई हानेर खुट्टा भाचिदिन्छन् अनि उपचार गर्न ३ हजार दिन पनि नाक खुम्च्याउँछन् यस्तै ठालु प्रवृत्ति भएकाहरुले गर्दा पनि सडकमा छाडा छाडिएका पशुहरु माथी अन्याय भइरहेको छ यो प्रवृत्तिमा सुधार हुन जरुरी छ ।
कार्यक्रममा पशु क्वारेन्टाइन कार्यलयका प्रमुख श्रीराम न्यौपानेले सीमित जनशक्तिका बाबजुत पनि पशु कल्याणको लागी काम गरिरहेको बताउनुभयो । उहाँले पशुलाई ढुवानी गर्दा ट्रकमा नभई त्यसको विकल्प खोज्न सुझाउनुभयो । व्यक्तिको मानसिकतमा परिवर्तन नभएसम्म पशुको अधिकारका लागी जतीनै पहल गरे पनि न्युनिकरण गर्न नसकिने उहाँको भनाई थियो ।
स्नेहाज केयरका प्रबन्ध निर्देशक कपिल काफ्लेले पशु क्वारेन्टाइन तथा पशु ढुवानीमा रहेका त्रुटी सच्याउन सके पशुको कल्याणमा भएका समस्या न्युनीकरण गर्न सकिने धारण राख्नुभयो ।नेपाल प्रहरीका एसएसपी भीम ढकालले प्रहरी प्रशासनले पशुपक्षीको अबैध निकासी नियन्त्रण गर्न तथा पशु अधिकारको रक्षा गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभयो ।
यस्तै मिस नेवा २०७६ रीजु मानन्धरले पशु अधिकार तथा कल्याणको कुरा बाहिर मात्रै नभइ चीडिया घरमा रहेका पुशहरुमा पनि लागुहुनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा आफु स्नेहा केयर सँग सहकार्य गरेर पशु अधिकारका साथै कल्याणको क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा धर्म गुरु तथा भिक्षुहरुले पशुबलीको बारेमा धर्म शास्त्रमा कतै पनि उल्लेख नभएको दावी गर्दै यो मानिसहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागी चलाएको चलन मात्रै भएको बताए । कार्यक्रममा सहभागीहरुले जनचेतना जगाउन तथा आफुले आफैलाई परिर्वतन गर्न सके मात्रै पशुको कल्याण गर्न सकिने बताएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend