काठमाडौ २२ जेष्ठ । नेपालमा धार्मीक आस्थाका रुपमा दिइने पशुबलीलाई अन्त्य गर्नु पर्नेमा पशुअधिकार सँग सम्बन्धीतहरुले जोड दिएका छन् । नेपालमा धार्मिक पशुवली निरुत्साहीत गर्न केन्द्रीय सरोकारवालाहरुको भूमिक विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले धार्मिक आस्थाका रुपमा दिइने बलीले पशुहरुको बाँच्न पाउने अधिकारको हनन भएको भन्दै त्यस्तो कार्य रोक्नु पर्ने बताएका हुन् ।
नेपालको सबैभन्दा बढी बली दिइने बारको गढीमाई मन्दिरमा पशुबली कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत छलफलमा सहभागीहरुले पशुबलीलाई तत्काल अन्त्य गर्न नसकिए पनि न्युनीकरण भने गर्न सकिने बताएका थिए । नेपालमा पशु कल्याण तथा पशुपंक्षीहरुको संरक्षणमा काम गर्दै आएको सँस्था स्नेहाज केयर तथा पशुकल्याण संघ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले आफू विगत ५ वर्षदेखि पशु कल्याणसम्बन्धी काम गर्दै आएको बताउँदै पशुअधिकारका बारेमा मानिसहरुमा ज्ञानको अभाव रहेको बताइन् ।
यद्यपी पछिल्लो समयमा सञ्चार माध्यमहरुको सहयोगका कारण पशुअधिकारको विषयमा आवज उठाउन सहज भएको उनको भनाई थियो । उनले भनिन् म नेवार समुदायको महिला हुँ मेरो समुदायमा पनि पशुबलीको प्रचलन छ म पनि यस क्षेत्रमा लाग्नु पहिले रोजेर कुन खसी मोटो छ भनेर काट्न लगाउँथे तर आफुले पशुको पनि मानिसहरुको जस्तै बाँच्न पाउने अधिकार छ भनेर बुझेपछि म अहिले पुशअधिकारकर्मी भएकी छु । सर्वप्रथम मनिसमा चेतना जगाउनु अवश्यक रहेको श्रेष्ठको भनाई छ ।

कार्यक्रममा केन्द्रीय रेफरल भेटनरी अस्पतालका प्रमुख डा बलराम थापाले नेपालमा पशुबलीको अवस्था र पशुकल्याण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपलको संविधानमा मानव अधिकार सम्बन्धी व्यावस्था भएपनि पुशअधिकारका बारेमा एउटा पनि कानून नबनेको बताए । थापाले भने मानव अधिकारका बारेमा संविधानमा विभिन्न अधिकारको व्यवस्था गरिएको छ तर तिनै पुशको उपयोग गरेर मानव जीवन चल्ने भएपनि पशुअधिकारका विषयमा कानून मौन बसेको छ ।
अमेरिकामा ९१ प्रतिशतले मासु खाने तथा नेपालका जम्मा १२ प्रतिशतले मात्रै दैनिक मासु खाने गरेपनि नेपालको पुशपक्षी बध गर्ने तथा मासु खाने प्रवृत्ति व्यवस्थित हनु नसकेको थापाले बताए । उनले पुशबलीको विकल्प खोज्न आवश्यक रहेको पनि औल्याए ।
पशुअधिकारको क्षेत्रमा काम गर्ने सँस्था एच एस आई नेपालका प्रतिनिधी तनुजा बस्नेतले पशुबलीको अन्त्य गर्न कानूनकै प्रयोग गनुपर्ने बताइन् । श्रीलंकामा पशुबलीमाथी लगाइएको प्रतिबन्ध प्रभावकारी भएको स्मरण गर्दै उनले नेपालमा पनि प्रतिबन्ध लगाउन सरकारले ध्यान दिनुपर्ने बताइन् । आफुहरु आवद्ध सँस्थाले पशुबलीको रोकथाम गर्नका लागी केही सहयोगी भूमिका निर्वाह गर्न सकेपनि अन्त्यनै गर्न भने नसक्ने बस्नेतले बताइन् ।
पशुकल्याण संघ नेपालका प्रतिनिधी रुपक कोइरालाले आफ्नो सँस्थाले गढीमाइमा पशुबली रोक्नका लागी सन् २००९ देखी काम गर्दै आएको बताए । उनले गढीमाइको मन्दिरमा करिब ३ लाख ५० हजार पशुको बली दिइने गरेको र त्यसमा ६० देखी ६५ प्रतिशत भारतीयहरुले बली चढाउने गरेको बताए । उनले पशुबली दिनुहुँदैन भनेर जानकरी भएपनि धार्मीक एवं साँस्कृतीक आस्थाका कारण मानिसहरुले त्यस्तो कार्य त्याग्न नसकेको अनुभव सुनाए ।

पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. विमल कुमार निर्मलले सरकार पशुकल्याण सम्बन्धी ऐन ल्याउन लागेको जानकारी दिँदै गढीमाइ मन्दिरमा हुने पशुबलीलाई व्यवस्थीत गर्न मन्त्रालय लागी परेको बताए । उनले आगामी मंसिरमा हुने गढीमाइको मेलामा हुने पशुबलीलाई निरुत्साहीत गर्न क्वारेन्टाइन चेकपोष्टमा कडाई गरिने बताए । नेपालका तीन तहको सरकार बनी सकेको अवस्था सबैको सहकार्यले मात्रै पशुबलीलाई न्युनीकरण गर्न सकिने डा. निर्मलको भनाई थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेलले संयुक्त कार्यदल बनाएर पुशबलीको विरुद्धमा लाग्नुपर्ने धारणा राखे । उनले भने गढीमाईको कुरा गर्दा नेपालबाट मात्रै नभई भारतबाट पनि बली दिनको लागी ठुलो सङ्ख्यामा पशुहरु नेपालमा ल्याउने गरिएको छ त्यसका लागी नेपालबाट मात्रै पहल गरेर हुँदैन भारत सरकार सँग पनि समन्वय गर्न आवश्यक छ ।
पशुसेवा विभागका रजिष्टार नारायण प्रसाद घिमिरेले पशुकल्याण सम्बन्धी ऐन बनाउने जिम्मा आफुहरुलाई दिए एक महिना भित्रै ऐन तयार गरिदिने भन्दै यस विषयमा विभाग गम्भिर रहेको बताए ।
अधिवक्ता पदम बहादुर श्रेष्ठले पशुहरुको अधिकारको लागि सम्बन्धित निकायलाई निरन्तर घचघचाउँदापनि कुनै सुनुवाई नभएकोमा दुखेसो पोखे ।उनले भने पशुको कल्याण पनि हुन नसकेको सन्दर्भमा पशु अधिकारका कुरा निकै परको विषय भएको बताए । कार्यक्रममा पूर्व मन्त्री कलावती देवी पासवानले गढीमाईमा हुने पशुबली रोक्नका लागी आफुले सन् २००९ देखी नै अभियान चलाए पनि सरकारले सहयोग नगरेको बताइन् । उनले केही जागरण स्थानीयमा जागउन सके पनि गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय आफुहरुको बाधकको रुपमा खडा भएको दुखेसो पोखिन् ।
भारतबाट कसैले कुखुराको चल्ला ल्यायो भने प्रहरीले अबैध भनेर नियन्त्रण लिन्छ तर गढीमाइमा बली दिनको लागी भारत देखी नेपालका विभिन्न क्षेत्रबाट हजारौँको सङ्ख्यामा हाँस,कुखुरा,राँगा लागिन्छ त्यसमा कुनै रोकतोक छैन यो कस्तो कानून हो भन्दै मन्त्री पासवानले आक्रोश पोखिन् । उनले आगामी दिनमा पनी पशुबलीको विरुद्धमा आफ्नो अभियान जारी रहने बताइन् ।
स्नेहाज केयरका प्रतिनिधी कपिल काफ्लेले पशुबलीलाई निरुत्साहीत गर्न बारा लगायतका जिल्लामा जनचेतना तथा अन्र्त्क्रिया कार्यक्रम गर्न लागिएको जानकारी दिए । यस्तै उनले यही जेठ ३० गते पशु कल्याणको लागी जनचेतना जगाउन काठमाडौ रत्नपार्कबाट शान्तिपूर्ण पदयात्रा कार्यक्रम गर्न लागिएको र त्यसका सबैलाई सहभागी हुन आवहन गरे । कार्यक्रममा सहभागीहरुले पशुबलीलाई एकपटक बन्द गर्न नसकिने भएकाले विस्तारै न्युनिकरण गर्नुपर्ने र पशुबलीको विकल्प खोज्नु पर्ने बताएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend