काठमाडौं, असार १० गते — दिवश्वरी हाइड्रोपावर लिमिटेडले आफ्नो एघारौं र बार्हौं वार्षिक साधारणसभा (AGM) एकै साथ सम्पन्न गरेको छ। कम्पनीको सोमबार ( ९ असार , २०८२ काठमाडौंमा सम्पन्न साधारणसभामा कम्पनीका सञ्चालक समिति, शेयरधनी, तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसअघि जेठ २२ गतेको लागि तय भएकोमा गणपूरक संख्याको अभावमा स्थगित भएको साधारणसभा सोमबार सम्पन्न भएको हो।
कार्यकारी अध्यक्ष दधिराम निरौलाको सभापतित्वमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजिको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।
सभामा वित्तीय वर्ष २०७९/८० र २०८/८१ का वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्षले पछिल्लो दुई वर्षमा प्राप्त उपलब्धिहरू र आगामी योजनाहरूको बारेमा जानकारी दिए। उनले उत्पादन, आयोजनाको प्रगति, वित्तीय अवस्थाको समीक्षा तथा भविष्यका सम्भावनाहरू पनि प्रस्तुत गरे।
सभाले कम्पनीको लेखापरिक्षण प्रतिवेदन पारित गर्नुका साथै, सञ्चालक समितिको प्रस्ताव अनुसार कुनै नगद लाभांश नदिने निर्णयलाई अनुमोदन गर्यो। साथै, नयाँ लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि सभाबाट पारित भयो।
कम्पनीले आगामी वर्षहरूमा उत्पादनमा वृद्धि, आयोजनाको विस्तार, र लगानीकर्तालाई दीर्घकालीन लाभ दिने रणनीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ। अध्यक्षले जलविद्युत् क्षेत्रमा देखिएको चुनौतीका बाबजुद कम्पनीले दिगो प्रगति गरिरहेको उल्लेख गर्दै, सबै शेयरधनी तथा सरोकारवालाको विश्वास र समर्थनप्रति आभार व्यक्त गरे।
दिवश्वरी हाइड्रोपावर लिमिटेडले संखुवासभा जिल्लामा रहेको सभाखोलामा २०७४ सालदेखि ४ मेगावाट क्षमताको परियोजना सञ्चालनमा ल्याएको छ र आगामी वर्षहरूमा थप परियोजनाहरूमा लगानी गर्ने योजना बनाइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend