३ असार , काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ। रास्वपाका नेताहरू आवश्यक परे पूरै अधिवेशन अवरोधका लागि तयार भएर अगाडि बढेका छन् ।
रास्वपाले भिजिट भिसा मार्फत नेपाली नागरिकहरुको तस्करीमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको यथेष्ट प्रमाण रहेको बताउँदै आएको छ। यस्तो गम्भीर मुद्दा उठाउदा समेत सभामुख देवराज घिमिरेले संख्याको बलमा पेलेर सदन चलाउने गरेको रास्वपा नेताहरु बताउँछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा देखिएका समस्याको निष्पक्ष र पारदर्शी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक रहेको अडान लिँदै आएको छ।
सोमबारको बैठकमा रास्वपाका सांसदहरूले ‘हाम्रो आन्दोलन जारी छ’, ‘मानव तस्करलाई कारबाही गर’, ‘गृहमन्त्री राजीनामा दे’, ‘मानव तस्करलाई संरक्षण बन्द गर’, ‘फासफुस सम्झौता चाहिँदैन’लगायतका नारा लगाएका थिए ।
अन्य सांसदले बोल्दा पँलेटी कसेर बसेका रास्वपाका सांसदहरुले अर्थमन्त्री जवाफ दिन रोष्ट्रममा उक्लिएपछि उठेर नाराबाजी थालेका हुन् ।
हिजोको प्रतिनिधिसभाको बैठकमा अहिले बजेटमाथि छलफल चलेको हो। बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दिएका थिए ।
अर्थमन्त्री रोष्ट्रममा बोल्दै गर्दा रास्वपाका सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहेका थिए ।
त्यस्तै , आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।
सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।
( – फाइल फोटो )
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend