काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार ( २९ जेठ , २०८२ ) सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष बिमल प्रसाद वाग्लेको सभापतित्वमा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न सभाले समीक्षा आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।
साथै, गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।
स्वतन्त्र संचालकमा नुर प्रकाश प्रधानलाई संचालक समितिले गरेको नियुक्ति पनि सभाले अनुमोदन गरेको छ।
त्यससँगै , कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ताबारेको प्रस्ताव पनि सभाले पारित गरेको छ।
कम्पनीका अध्यक्ष बिमल प्रसाद वाग्लेले सभामा उठेका सम्पूर्ण शेयरधनीहरुको जिज्ञासा मेटाउँदै कम्पनीको उन्नतिको पथमा अघि बढेको बताएका छन् । उनले आउँदो समयमा अझै कम्पनीले शेयरधनीहरुलाई उचित लाभांश वितरण गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
सभामा उपस्थित शेयरधनीहरुले एनएलजी इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सफलताको कामना व्यक्त गर्दै बीमा प्राधिकरणको चुक्ता पुँजी पुर्याने निर्देशन अनुसार मर्जरमा नगई हकप्रद निष्काशन गर्ने निर्णयको खुलेर तारिफ गरेका छन् ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गरिसकेकाले जेठ २१ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend