२९ जेठ , काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यसहित नयाँ ‘बाल शैक्षिक योजना’ सावधिक बीमा पोलिसी सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार काठमाडौंको कान्तिपथस्थित यलो प्यागोडा होटलमा आयोजना गरेको भव्य समारोहबीच नयाँ योजना सार्वजनिक गरेको हो। कार्यक्रममा कम्पनीका उत्कृष्ट अभिकर्ता, उच्च तहका व्यवस्थापकहरू तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति थियो।
कम्पनीको नेतृत्व सम्हालेपछि प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीले बीमा क्षेत्रमा पारदर्शिता, नवप्रवर्तन र कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले नयाँ योजनासहित नयाँ कार्ययोजना अघि सारेका छन्। उनले कार्यक्रममा सम्बोधन गर्दै कम्पनीको सशक्तिकरणमा अभिकर्ता र कर्मचारीको भूमिकालाई महत्वपूर्ण बताउँदै भविष्यमा अभिकर्ताहरूको सम्मान, बोनस वृद्धि तथा समयमै सेवा प्रवाहमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

‘बाल शैक्षिक योजना’ अभिभावकले आफ्ना बालबालिकाको शिक्षा खर्च सुरक्षित गर्नका लागि ल्याइएको सावधिक बीमा योजना हो, जसमा बीमित व्यक्तिको मृत्यु भएमा निश्चित रकम ग्यारेन्टी गरिनेछ। साथसाथै, यस योजनामा बोनस सुविधा तथा आधुनिक जीवन बीमा सेवाका विभिन्न पक्ष समेटिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कारोबार गरेका बीमा अभिकर्ताहरूलाई प्रमाणपत्र र खादा प्रदान गर्दै सम्मानसमेत गर्यो। नयाँ योजना सार्वजनिक गर्दै कम्पनीले ग्राहकमैत्री सेवाको विस्तार, ग्रामीण क्षेत्रमा पहुँच वृद्धि र डिजिटल प्रविधिको प्रयोगमार्फत बीमा सेवामा सुलभता ल्याउने लक्ष्य पनि सार्वजनिक गरेको छ। CEO पन्थीका अनुसार, स्किम लन्चको यो सुरुआतले बीमा बजारमा राष्ट्रिय जीवन बीमा कम्पनीको विश्वसनीयता र प्रतिस्पर्धा दुवै मजबुत बनाउने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend