२५ जेठ , काठमाडौँ । हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा नेपाली कामदारका लागि अझै पनि धेरै अवसरहरू रहेको बताउँदै नेपालीहरू भाषाको कमजोरीका कारण ती अवसरको समुचित लाभ लिन नसकेको धारणा राखेकी छन्।
तमु बौद्ध सेवा समितिले काठमाडौंमा आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले हङकङको सामाजिक संरचना, सुविधा र अवसरहरूबारे धारणा राख्दै नेपाली समुदायको वर्तमान अवस्था, समस्याहरू र सम्भावनाबारे स्पष्ट विचार राखिन्।
गुरुङले हङकङमा घरेलु कामदारको उच्च माग रहेको उल्लेख गर्दै, नेपालीहरू त्यहाँका श्रम बजारमा प्रतिस्पर्धी हुन सक्ने क्षमता भए पनि भाषा सिक्न नसक्दा अवसर चुकिरहेको बताइन्। उनले भनिन्, “हङकङमा धेरै फ्यासिलिटी छन्, तर हामी नेपालीले त्यसको सदुपयोग गर्न सकेका छैनौं। ट्याक्स तिरेर अधिकार पाउने प्रणाली छ, तर हामी त्यो बुझ्न भाषाको कमजोरीले गर्दा असमर्थ भइरहेका छौं।”
उनले विभिन्न राष्ट्रहरू — जस्तै भारत, पाकिस्तान, बङ्गलादेश — का आप्रवासी समुदायहरू हङकङमा संगठित र सचेत रहेको उल्लेख गर्दै, नेपालीहरू भने अझै पनि पछि परेको महसुस भएको बताइन्। “हामी गोरखाली, हाम्रा योगदान महत्त्वपूर्ण छन्। हामीले हङकङका लागि राम्रो काम गरेका छौं, तर आफ्नै अधिकारका लागि भने आवाज उठाउन सकेका छैनौं,” उनले भावुक शैलीमा भनिन्।
उनले हङकङमा नेपाली समुदायका धेरै सदस्य अहिले बेरोजगार रहेको जानकारी दिँदै भनिन्, “घरेलु कामदारको हङकङमा धेरै डिमाण्ड छ। तर नेपाली युवाहरूलाई मार्गदर्शन, सीप र सही सूचना नपुगेका कारण यो सम्भावना प्रयोग हुन सकेको छैन।”
गुरुङका अनुसार, खाडी मुलुकहरूको तुलनामा हङकङ रोजगारीका लागि आर्थिक हिसाबले लाभदायक र सुरक्षाका दृष्टिकोणले सुरक्षित गन्तव्य हो। तर नेपाली श्रमिकले यथोचित रूपमा आफूलाई प्रस्तुत गर्न नसक्दा अवसर गुमिरहेको छ। उनले यस्तो अवस्थालाई सुधार गर्न नेपाल सरकारले सहयोगी नीति ल्याउनुपर्ने आवश्यकता पनि औँल्याइन्।
उनको भनाइले हङकङमा रहेका नेपालीहरूको भोगाइ, अवसर र समस्यालाई उजागर गरेको छ। साथै, भाषिक क्षमता र जानकारी अभावले कसरी आप्रवासी जीवनलाई प्रभाव पार्दछ भन्ने गम्भीर यथार्थसमेत प्रस्तुत गरेको छ। गुरुङले हङकङमा नेपालीहरूको सामाजिक, आर्थिक उन्नतिका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा पनि सकारात्मक योगदान दिन आफू सधैं तयार रहेको बताइन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend