सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चाैंथो वार्षिक साधारणसभा सम्पन्न

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चाैंथो वार्षिक साधारणसभा सम्पन्न

२५ जेठ , काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सभाले कम्पनीका महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै आगामी कार्यदिशा तय गरेको छ।

सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ। त्यसैगरी चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरिएको छ।

यसपटकको साधारणसभाको विशेष आकर्षण भनेको बोनस सेयर तथा नगद लाभांशको प्रस्ताव थियो। सभाले हाल कायम १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ४.५० प्रतिशतका दरले हुन आउने ४६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि २ करोड ४६ लाख ३१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। यो प्रस्तावले शेयरधनीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ।

गत वर्ष मात्र कम्पनीले नेपालको इतिहासमै सबैभन्दा ठूलो प्राथमिक सेयर निष्कासन (IPO) सम्पन्न गरेको थियो। सो IPO सम्पन्न गरेपछि बसेको तेस्रो वार्षिक साधारणसभाले तत्कालीन चुक्ता पुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशत दरले ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो।

साथै, यो सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक थप तथा संशोधन गरि अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायले कुनै निर्देशन दिएमा सो निर्देशनअनुसार सुधार गर्न सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शेखर गोल्छा रहेका छन्। व्यवसायिक नेतृत्व, अन्तर्राष्ट्रिय पहुँच र रणनीतिक योजना कार्यान्वयनका कारण हिमालयन रिइन्स्योरेन्स लिमिटेड पुनर्बीमा क्षेत्रमा एक उदाउँदो शक्ति बनेर अघि बढिरहेको छ। यस कम्पनीको सफलताले नेपाली बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाहरूको ढोका खोलिदिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend