सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

काठमाडौं आइपुग्यो अमेरिकाले डिपोर्ट गरेका नेपाली बोकेको चार्टर्ड विमान

काठमाडौं आइपुग्यो अमेरिकाले डिपोर्ट गरेका नेपाली बोकेको चार्टर्ड विमान

२५ जेठ , काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएका करिब ६० जना नेपाली बोकेको चार्टर्ड विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। यो संख्या एकैपटक डिपोर्ट भएर नेपाल फर्किएका नेपालीमध्ये हालसम्मकै सबैभन्दा ठूलो भएको जनाइएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी अध्यागमन तथा भन्सारसम्बन्धी कानुन कार्यान्वयन गर्ने निकाय  इमिग्रेशन एण्ड कस्टम्स एनफोर्समेन्ट   (ICE) को चार्टर्ड विमानमार्फत ती नेपालीहरू नेपाल फर्किएको जानकारी दिएको हो। दूतावासका अनुसार, उनीहरू सबैले अमेरिकामा बस्न कानुनी आधार स्थापित गर्न नसकेका कारण डिपोर्ट गरिएको हो।

अध्यागमन विभागका स्रोतका अनुसार विमानबाट उत्रने क्रम जारी रहेको छ भने उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रहरीले आफ्नो जिम्मामा लिएको छ। प्रारम्भिक छानबिन अनुसार डिपोर्टमा परेका अधिकांश नेपालीहरू अवैध मार्ग वा कागजपत्रबिनै अमेरिका प्रवेश गरेका, भिसाको अवधि सकिएपछि पनि उतै बसेका वा झूठो विवरणमार्फत शरणार्थी बन्ने प्रयास गरेका थिए।

यसअघि पनि डिपोर्टमा परेका नेपालीहरूसँग प्रहरीले मानव तस्करबारे सूचना लिने र उनीहरूलाई कुन माध्यमबाट अमेरिका पठाइएको थियो भन्नेबारे विस्तृत अनुसन्धान गर्ने गर्दै आएको छ। त्यसैअनुसार, आज आएका नेपालीहरूबाट पनि सोधपुछ गरिनेछ।

डोनाल्ड ट्रम्प सन् २०२५ जनवरी २० मा दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि अमेरिकाको अध्यागमन नीति झन् कडा बनाइएको छ। ट्रम्पले शपथ लिएलगत्तै अवैध आप्रवासीलाई देशनिकाला गर्नेसम्बन्धी कार्यकारी आदेश जारी गरेका थिए। सो आदेश कार्यान्वयनमा आएपछि सन् २०२५ को जनवरी २० देखि जुन ४ सम्मको छोटो अवधिमा मात्रै १४० जना नेपाली डिपोर्ट भइसकेका छन्।

अघिल्लो वर्ष, जो बाइडेनको कार्यकालमा सन् २०२४ भरिमा जम्मा ३५ जना नेपाली मात्र डिपोर्ट भएका थिए। तर ट्रम्प पुनः सत्तामा फर्किएपछि प्रत्येक महिना करिब सोही संख्याका नेपालीहरू डिपोर्ट भइरहेको तथ्यांकले देखाएको छ। ट्रम्प प्रशासनले हालसम्म निष्कासनका लागि सूचीमा राखिएका नेपालीको संख्या १,३६५ रहेको जानकारी दिएको छ। यो सूचीमा समावेश गरिएका सबैलाई अवैध रूपमा अमेरिका बसोबास गरेको आरोप लागेको छ।

डिपोर्ट भएकाहरूको कथाले आप्रवासन प्रणालीको कठोर यथार्थ मात्र होइन, दक्षिण एसियाली विशेषगरी नेपाली युवामा देखिएको ‘अमेरिकी सपना’ पछाडिको तितो यथार्थ पनि उजागर गर्छ। पछिल्ला वर्षहरूमा अमेरिका जान मानव तस्करहरूको माध्यमबाट जोखिम मोलेर अवैध मार्ग अपनाउने नेपालीहरूको संख्या बढ्दै गएको छ।

सरकार, प्रहरी प्रशासन र अध्यागमन विभागले अब यस विषयमा थप सतर्कता, जनचेतना र मानव तस्करी नियन्त्रण अभियानमा गहिरो ध्यान दिनुपर्ने समय आएको छ। अन्यथा “सपना पूरा गर्न अमेरिका” भन्ने मोहमा अझै हजारौँ युवा आपराधिक जालोमा पर्न सक्छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend