सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आइसीसी विश्वकप लिग- २: आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

आइसीसी विश्वकप लिग- २: आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

 

२५ जेठ , काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय एकदिवसीय शृङ्खलाको तेस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ।

नेपाल हाल लिग तालिकाको सातौँ स्थानमा रहेको छ र शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डलाई नै एक विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको थियो। त्यसपछि दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराउँदै नेपालले आत्मविश्वास थप बलियो बनाएको छ। सुरुआती १२ खेलमा जम्मा ६ अंक मात्र जोडेको नेपाल पछिल्ला दुई खेलमा लगातार जित दर्ता गर्दै १४ खेलमा १० अंकसम्म पुगेको छ।

प्रतिस्पर्धात्मक लिग तालिकामा अहिले अमेरिका २० खेलबाट २८ अंकसहित शीर्ष स्थानमा छ। नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने ओमान २० खेलमा २४ अङ्क जोड्दै तेस्रो स्थानमा छ। स्कटल्यान्ड १८ खेलबाट २२ अङ्कसहित चौथो स्थानमा छ। त्यस्तै, क्यानडाले २० खेलमा २० अंक र नामिबियाले २० खेलमा १४ अंक बटुलेका छन्।

आजको खेल नेपालका लागि केवल अर्को खेल मात्र होइन, लिग–२ मा पुनरागमनको सङ्केत दिन सक्ने महत्वपूर्ण अवसर पनि हो। लगातार तेस्रो जित हात पार्न सकेमा नेपाल लिगको मध्यतालिका पुग्ने सम्भावनामा थप नजिक पुग्नेछ, जसले भावी विश्वकप छनोटको ढोका पनि खोल्न सक्नेछ।

नेपालको बलिङ र फिल्डिङ पछिल्ला खेलहरूमा सुधारोन्मुख देखिएको छ भने ब्याटिङमा पनि युवा खेलाडीहरूले जिम्मेवारीका साथ प्रदर्शन गरिरहेका छन्। यस्तो आत्मबलका साथ नेपाल आज पुनः विजयको पताका फहराउने आशामा छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend