सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आम उपभाेक्ताकाे स्वास्थ्यलाई प्राथमकितामा राखेका छाैँ : कृषिमन्त्री

आम उपभाेक्ताकाे स्वास्थ्यलाई प्राथमकितामा राखेका छाैँ : कृषिमन्त्री

२४ जेठ , काठमाडौँ ।  विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको  कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँच कार्यलाई वैज्ञानिक विधिबाट अघि बढाइएको बताएका छन्। उनले आम उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राख्दै बजारमा पाइने खाद्य सामग्रीको गुणस्तर सुनिश्चित गर्न सरकारले निरन्तर प्रयास गरिरहेको स्पष्ट पारे।

मन्त्री अधिकारीका अनुसार, सरकारले स्वदेशमा उत्पादन हुने तथा आयात भई भित्रिने खाद्य सामग्रीहरूलाई कडाइका साथ नियमन गर्न हालैदेखि मोबाइल ल्याब भ्यानको प्रयोग थालेको छ। उक्त ल्याबले बजार र उद्योगहरूमा अनुगमन गरी अन द स्पट परीक्षण गर्ने सुविधा प्रदान गर्छ, जसले खाद्य सुरक्षा नियन्त्रणलाई थप प्रभावकारी बनाएको छ। यस्तो कदमले उपभोक्तामा सुरक्षित खानाको सन्देश पुर्‍याउने मात्र होइन, खाद्य व्यवसायीहरूलाई पनि सचेत र जिम्मेवार बनाएको मन्त्रीको भनाइ थियो।

उनले हालै संसदबाट पारित भई लागूमा आएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई ऐतिहासिक उपलब्धि भन्दै यसले देशमा खाद्य सुरक्षाको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको बताए। छ दशकपछि आएको यो कानुन उपभोक्ताको खाद्य अधिकार र स्वास्थ्यलाई सुनिश्चित गर्ने दिशामा सरकारको प्रतिबद्धताको प्रतिबिम्ब भएको उनको भनाइ थियो।

कार्यक्रममा मन्त्री अधिकारीले यो वर्षको खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता’ भन्ने अन्तर्राष्ट्रिय नारालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए। उनले जनतालाई सुरक्षित, पोषणयुक्त र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने लक्ष्यका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वैज्ञानिक विधिका माध्यमबाट परीक्षण र जाँचलाई निरन्तरता दिएको बताए।

यद्यपि खाद्य सुरक्षाका लागि यस्ता प्रयास भइरहँदा पनि बजारमा अझै अखाद्य, विषादीयुक्त वा गुणस्तरहीन वस्तुहरू बिक्री हुने समस्या कायमै रहेको मन्त्री अधिकारीले स्वीकारे। तर उनले यस्ता विकृति नियन्त्रण गर्न बजेट, जनशक्ति र प्रविधिको विस्तार गर्दै सरकार कडाइका साथ काम गरिरहेको बताए।

उनका अनुसार, खाद्य सुरक्षालाई मात्र होइन, समग्र सार्वजनिक स्वास्थ्यलाई जोगाउने अभियानको रूपमा सरकारले खाद्य स्वच्छता नीति कार्यान्वयन गरिरहेको छ। उनले नागरिकहरूलाई पनि सचेत रहन, शुद्ध तथा सुरक्षित खाद्यको माग गर्न र खाद्यको गुणस्तरमा सम्झौता नगर्न आग्रह गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend