२१ जेठ, काठमाडौं । घरजग्गा किनबेच गर्दा अब विद्युतीय माध्यमबाट भुक्तानी गर्न अनिवार्य हुने भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२’ ले अबदेखि सम्पत्ति कारोबारलाई अझ पारदर्शी र नियन्त्रणयोग्य बनाउने उद्देश्यले यो नयाँ नियम लागू गरेको हो।
अब के–के अनिवार्य हुन्छ ?
१। केवाईसी फाराम अनिवार्य
घरजग्गा किनबेचमा संलग्न क्रेता र बिक्रेता दुवैले अब ‘Know Your Customer (KYC)’ फाराम अनिवार्य रूपमा भर्नु पर्नेछ। यो फाराम भू(सेवा केन्द्र वा सम्बन्धित कार्यालयको सर्भिस डेस्कमार्फत भरी, प्रणालीमा अपलोड गरिनेछ।
२। नगद होइन, डिजिटल भुक्तानी
१० लाखदेखि ५० लाख रुपैयाँसम्मको कारोबार अब बैङ्किङ प्रणाली वा अन्य विद्युतीय माध्यमबाट मात्र गर्न पाइनेछ।
५० लाख रुपैयाँभन्दा माथिको कारोबार भने अनिवार्य रूपमा विद्युतीय भुक्तानी प्रणाली वा ‘गुड फर पेमेन्ट’ (GFP) चेकमार्फत मात्र गर्नुपर्नेछ।
GFP चेक बिक्रेताको नाममै तयार गरिएको हुनुपर्नेछ।
३। बैंक स्टेटमेन्ट पनि अनिवार्य
भुक्तानी भएको प्रमाणस्वरूप खरिदकर्ताको बैंक खाताबाट बिक्रेताको खातामा रकम जम्मा भएको देखाउने बैंक स्टेटमेन्ट पनि संलग्न गर्नु पर्ने व्यवस्था छ।
किन यस्तो व्यवस्था ल्याइयो ?
यो निर्देशनको मुख्य उद्देश्य सम्पत्ति शुद्धीकरण (money laundering) नियन्त्रण गर्नु र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी रोक्नु हो। साथै, यसले घरजग्गा कारोबारमा हुने कालो धनको प्रयोग नियन्त्रण गर्ने र समग्र सम्पत्ति कारोबारलाई पारदर्शी र नियन्त्रणयोग्य बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend