सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विश्व खाद्य स्वच्छता दिवस २०८२ सप्ताहव्यापी रुपमा मनाईदै

विश्व खाद्य स्वच्छता दिवस २०८२ सप्ताहव्यापी रुपमा मनाईदै

१९ जेठ ,काठमाडौं । मानव स्वास्थ्यमा खाद्य पदार्थको गुणस्तर र स्वच्छताको महत्वबारे आम जनमानसमा सचेतना फैलाउने उद्देश्यले विश्व खाद्य स्वच्छता दिवस २०८२ नेपालमा पनि विभिन्न कार्यक्रमहरूसहित सप्ताहव्यापी रूपमा मनाइँदैछ। संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिख यो दिवस मनाउने गरिँदै आएको हो। यस वर्ष दिवसको मूल नारालाई ‘खाद्य सुरक्षामा विज्ञानको सक्रियता’ भनेर घोषणा गरिएको छ।

नेपाल सरकार अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रमहरूको विवरण सार्वजनिक गरेको छ। स्कुलस्तरीय मिनिफुटबल, ब्याडमिन्टन, टेबलटेनिसजस्ता खेलकुद प्रतियोगिता, चित्रकला र वक्तृत्व प्रतियोगिता, सडक नाटक, जनचेतनामूलक सामग्री वितरण, ‘ह्याकाथन’, खाद्य बजार अनुगमन, सिफारिस समिति बैठक, नीति संवाद र अन्तरक्रियात्मक गोष्ठीहरू आयोजना गरिने जानकारी दिइएको छ। विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले प्रमुख शहरहरूमा होटल, रेस्टुराँ, फलफूल तथा तरकारी बजारहरूमा खाद्य परीक्षण तथा निगरानी कार्य तीव्र पारिएको पनि जानकारी दिनुभयो।

प्रवक्ता महर्जनका अनुसार, खाद्य सुरक्षाको संवर्धनका लागि वैज्ञानिक आधारमा कार्यक्रम सञ्चालन र सबै पक्षको समन्वय आवश्यक छ। उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य श्रृंखलामा वैज्ञानिक प्रमाण र प्रविधिको प्रयोग अनिवार्य भएको बताउँदै उहाँले सार्वजनिक स्वास्थ्यका लागि यो विषय गम्भीर रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले नेपालमा उपभोक्तामाझ खाद्य स्वच्छतासम्बन्धी चेतना अझै कमजोर रहेको बताउँदै यस्तो चेतना अभिवृद्धिका लागि यो दिवस मनाउनु परेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार, खाद्य सुरक्षाबारे ज्ञानको अभाव नेपालमा मात्र होइन, युरोपियन मुलुकहरूमा समेत चुनौतीपूर्ण रहेको हुँदा यो अभियानलाई एक दिनको औपचारिकता नबनाई वर्षभर चलाउने योजना बनाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, अस्वच्छ र दूषित खाद्यका कारण विश्वभर करिब ६० करोड मानिस प्रत्यक्ष प्रभावित हुने गरेका छन्। नेपालमा विषादी, एन्टिबायोटिक र दूषित खाद्यको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गरिरहेको विभागको निष्कर्ष छ।

विभागका उपमहानिर्देशक सोमकान्त रिजालले खाद्य बजार अनुगमन नियमित रूपमा भइरहने बताउँदै अनुगमनलाई सुधारात्मक, दण्डात्मक र सचेतनामूलक तिनवटा ढंगबाट अगाडि बढाइएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, चाडपर्वको समय मात्र नभई अन्य समयमा पनि विषादीयुक्त तरकारी र फलफूल उपभोक्तासम्म नपुग्ने गरी निरन्तर निगरानी गरिएको छ।

सप्ताहव्यापी कार्यक्रमको समापन यही जेठ २४ गते विशेष समारोहसहित गरिनेछ। समापन कार्यक्रममा गरिएको गतिविधिको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्षका लागि रणनीतिक योजना निर्माणसम्बन्धी छलफल हुने विभागले जनाएको छ।

यस वर्षको अभियानलाई प्रभावकारी बनाउँदै सरकारी निकाय, निजी क्षेत्र, उद्योग व्यवसाय, उपभोक्ता समूह, सञ्चारमाध्यम, अनुसन्धान संस्था तथा नागरिक समाजसँग सहकार्य गर्न विभागले आह्वान गरेको छ। खाद्य सुरक्षालाई दीगो र प्रभावकारी बनाउने दिशामा यो दिवस एक सशक्त माध्यम बन्ने विश्वास गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend