१८ जेठ ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन् । शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले एमालेले स्पष्ट बहुमत ल्याउनु नै मिसन २०८४ भएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीहरुबीच एकीकरण गरेर दुई तिहाइमा पुर्याएपछि आन्दोलनभित्रबाटै हमला गरिएको आरोप लगाए । उनले नेकपा र एमालेभित्रको आन्तरिक किचलोलाई सम्झिँदै एमालेलाई धुलो बनाउने उद्देश्य असफल बनाएको दाबी गरे ।
उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले लक्षित गर्दै भने पार्टी फुटाएर एमालेलाई धुलो बनाउने, एमालेको अस्तित्व देशबाट मेटाउने हो भनेर घोषणा गरेको बताए: “उनीहरूले खुलस्त नारा दिए । केपी ओलीविनाको एमाले बनाउन खोजे ।” अध्यक्ष ओलीले नेकपाकालमा आफूलाई प्रचण्ड र माधव नेपाल समूहले साधारण सदस्यसमेत हुन नपाउने गरी हटाएको स्मरण गरे । देश बनाउन हिँडेको एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भनेर प्रतिक्रियावादीहरूले एमालेविनाको देश कल्पना गरेको भए पनि त्यो षड्यन्त्रलाई असफल बनाएको बताए ।
त्यस्तै , प्रधानमन्त्री केपी ओलीले पार्टी कमिटीमा मिलेर जान जोड दिँदा आफूमाथि तानाशाही भएको आरोप लागेको भन्दै असन्तुष्टि जनाए। चुनाव गर्दा गुट बन्ने र पछिसम्म जाने भएकाले आफूले सहमतिमा जोड दिएको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend