५ असार ,काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले देश र जनताको सेवामा सधैं खटिने नेपाल प्रहरीलाई व्यस्त, चुनौतीपूर्ण र कठिन जीवनशैलीमा योग र प्राणायमको अभ्यासले शारीरिक र मानसिकरूपमा स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्याउने बताएका छन् ।
दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आज प्रहरी मुख्यालय नक्सालमा आयोजित एक दिवसीय योग विज्ञान शिविरमा उनले योग तथा प्रणायामले प्रहरीको सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने उल्लेख गरे ।
“योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौँ, हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौँ, हाम्रो एकाग्रता, सोच, चुस्तता, मानसिक र शारीरिक स्वास्थ्य देश र समाजका लागि महत्त्वपूर्ण हुन्छ । स्वस्थ मानसिकताका साथ अगाडि बढ्न सक्यौँ भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।”, उक्त अवसरमा गृहमन्त्री लामिछानेले भनेका छन् ।
गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि शारीरिक र मानसिक अवस्था दुरुस्त हुन जरुरी रहेको बताए ।प्रहरीले कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने बताए ।
त्यस्तै , गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्त्वपूर्ण हुने बताए ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरका माध्यमबाट योगको महत्त्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको अनुभूति गरेको बताए । उनले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको उल्लेख गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend