२६ जेठ , काठमाडौं । नरेन्द्र मोदी तेस्रो कार्यकालको लागि भारतका प्रधानमन्त्री नियुक्त भएका छन्।
शुक्रबार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका नेताहरूले दलको नेताका रूपमा मोदीलाई नियुक्त गरेको जानकारी गराएका हुन्। यसपछि मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट गरेका थिए।
‘मलाई माननीय राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। मैले सम्भवत आइतबार प्रधानमन्त्रीको शपथ ग्रहण हुने जानकारी गराएको छु,’ मोदीका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ।
उनले शपथ ग्रहण गर्नुअघि मन्त्रीहरूको नामावली सूची राष्ट्रपतिकहाँ पेस गर्ने जानकारी पनि दिएका छन्।
मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू प्रमुख रहेको तेलगु देसम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति गरेका थिए। उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमा थिए।
भाजपाले एक्लै बहुमत (२७२) सिट नजितेकोले एनडिएका दलहरूको सहयोगमा मोदीले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको थियो।
मोदीलाई प्रधानमन्त्रीमा १२ सिट जितेको जनता दल (युनाइटेड) र १६ सिट जितेको तेलगु देसम पार्टी (टिडिपी) ले समर्थन गरेको छ।
आइतबार (२७ जेठ ) मा नयाँ दिल्लीमा हुने मोदीको सपथग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुँदैछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend