शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लक्ष्मी सनराइज बैंकको कारोबार शुभारम्भ असार २४ गते हुने

लक्ष्मी सनराइज बैंकको कारोबार शुभारम्भ असार २४ गते हुने

काठमाडौं । मर्जर प्रक्रियामा रहेका लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २४ गते तय भएको छ ।   लक्ष्मी बैंकको आइतबार सम्पन्न विशेष साधारण सभा र सनराइज बैंकको पन्ध्रौं साधारणसभाले एकअर्कासँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि प्रक्रिया अघि बढेको हो ।

मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । कसैलाई पनि अफ्ठ्यारो नपर्ने गरी कर्मचारी व्यवस्थापन भइरहेको दुबै बैंकको व्यवस्थापनले बताएका छन ।

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दोस्रो वरियता दिने सहमति भएको छ । यदि कुनै कर्मचारीलाई चित्त नबुझे संयुक्त मर्जर कमिटिले भिआरएस सुविधा ल्याउनेछ । कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने सहमति भएको छ ।

दुवै बैंक समान हैसियतमा मर्जरमा जान लागेका हुन् । मर्जपश्चात् बैंकको सञ्चालक समिति अध्यक्ष लक्ष्मी बैंकबाट रमण नेपाल बन्ने छन् । यद्यपी सञ्चालक समितिको पहिलो बैठकले अध्यक्ष नियुक्त गर्नेछ । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् ।

मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् ।

पहिलो साधारण सभा सम्पन्नपछि बन्ने सञ्चालक समिति ५ सदस्यीय हुने बैंकले जनाएको छ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहनेछन।

दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

। सनराइज बैंकले पनि आइतबार वार्षिक साधारणसभा गरेको छ । सनराइज बैंकका सेयरधनीले पनि लक्ष्मीसँग मर्जरमा जानका लागि अनुमोदन गरेका हुन् ।

मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ ।

मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छन् भने कर्मचारी संख्या ३ हजार १७० जना पुग्ने छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend